कर्णाली कस्तो छ?
सर्वसाधारण नेपालीसँग यो प्रश्नको उत्तर सबैको एउटै हुने गर्छ। कर्णालीमा भोक छ, अभाव छ, दुःख छन् र तिनै दुःखले सिर्जिएका तमाम समस्या।
हुन सक्छ, त्यहाँ विकासको अनुभूति गर्न नपाएका मानिस छन्। जहाँ गुणस्तरीय शिक्षा छैन, भरपर्दो स्वास्थ्योपचारको पहुँच छैन। बत्ती नपुगेका बग्रेल्ती गाउँ छन् र त्यहाँ पुग्ने सहज सडकसमेत छैन।
तर के कर्णालीको चित्र यत्ति मात्र हो?
सिर्जना सिज्जुलाई त्यस्तो लाग्दैन। बाहिरबाट बन्द आँखाले देखेजस्तो कुरूप छैन, कर्णाली। सिर्जनालाई सिंगै स्वर्ग आएर बसेजस्तो लाग्छ, कर्णालीमा।
लामबद्ध पहाड, सुसाइरहने खोला, खोंच र कन्दराहरू। खुला अकासमुनि बुकी मुस्कुराइरहेका पाटन मैदानहरू। कतै झरनाको धुन र चञ्चल जल लहरा। अनि आदिम वस्तीहरू, त्यहाँको जीवनशैली र मानिसका निश्चल अनुहार।
यस्तो प्रकृतिले दिएको अनुपम सौन्दर्यलाई चटक्कै बिर्सेर कर्णालीको कुरूप चित्र निर्माण गर्नु र भाष्यलाई कायम बनाई राख्नु सिर्जनालाई जायज लाग्दैन।
रुकुम पश्चिम, सानीभेरीकी २५ वर्षीया सिर्जना वली सिज्जु त्यही कर्णालीको मोहक भूगोलले लालायित छन्। एउटा सानो गाउँको घर छाडेर उनी कर्णालीका लेकहरू चढ्छिन्, फाँटहरू चहार्छिन्। कहिले राता गुराँसको छहारीमा सुस्ताउँछिन् त कहिले बीच पाटनमा पल्टिएर कर्णालीको अकासमा आँखालाई विलीन बनाइदिन्छिन्।
उनलाई यो समय राष्ट्रिय मिडियाले मात्र होइन, सामाजिक सञ्जालमा समेत खोजिन थालेको छ। फेसबुकदेखि युट्युबमा समेत उनका गतिविधिले आँखा तानेका छन्। सिर्जना कुनै पर्यटक नपुगेका अनगन्ती स्थानमा पुगेर त्यहाँका दृश्य क्यामेरामा कैद गर्छिन् र सामाजिक सञ्जालमा पोस्ट गरिसक्छिन्।
कर्णालीका मन लुट्ने उनले खिचेका तस्बिर अहिले चर्चामा छन्। उनले खिचेका सयौं तस्बिर सयौं पटक सेयर गरिएका छन्। भिडियोहरू त्योभन्दा बढी पटक हेरिएका छन्।
यो सिर्जनाको आफ्नै व्यक्तिगत चाहना वा रुचि हो। व्यक्तिगत हुटहुटी र बलजफ्तीले हिँडेको उनी आफैँ बताउँछिन्। तर उनको यात्राले सिंगो पर्यटन प्रवद्र्धनमा पुर्याएको योगदानबारे कर्णाली प्रदेश सरकार पनि परिचित छ। उनले निर्माण गरेको वृत्तचित्रका लागि प्रदेश सरकारले पुरस्कार दिएको थियो।
अहिले उनका अनुभव धेरै मानिसका लागि पाठ बन्न थालेका छन्। विभिन्न अवसरमा बोलाएर उनका यात्राबारे सुन्न थालिएको छ। बुझ्न थालिएको छ।
एसएलसीपछि सिर्जनाका साथीहरूले पढेको विषय पढ्न मन लागेन। उनले फरेस्ट्री पढ्न चाहिन्। त्यसका लागि काठमाडौं पुगिन्। तीन वर्षे डिप्लोमा कोर्स सिध्याएर रुकुम फर्किएकी सिर्जनाले गाउँमै काम गर्न थालिन। एउटा एनजीओमा काम गर्ने अवसरले उनको जीवनलाई नयाँ मोड ल्याइदियो।
उनले प्रकृति र संस्कृतिलाई नजिकबाट बुझ्ने कोसिस गरिन्। उनले पढाइसँगै प्रकृति र संस्कृतिका विविध आयामलाई जोगाउँदै पर्यटन प्रवद्र्धनमा सक्रिय हुने कोसिस गरिन्। १५ दिन उपल्लो डोल्पा पुगेर आएपछि सिर्जनाले यात्रावृत्तान्तमा लेखेकी छन्, ‘डोल्पालाई लिएर जति सुन्दर शब्द खर्चिए पनि अन्याय हुन्छ। नेपाल यति सुन्दर होला भन्ने सोचेकै थिइनँ।’
उनी पुगेका गाउँ÷ठाउँहरू चल्तीका होइनन्। सायदै त्यो ठाउँमा पहिले कोही गएको होस्। भर्जिन स्थानमा पुगेर सिर्जनाले त्यहाँका दृश्य कैद गरेकी छन्।
पछिल्लो समय जुम्लाका विभिन्न स्थानमा सिर्जनाले एक महिने यात्रा गरिन्। बग्रेल्ती गाउँ घुमिटोपलिन्। त्यहाँको समाजलाई सक्दो तस्बिर र भिडियोमार्फत देखाउने प्रयास गरिन्। अहिले दूधकुण्डली र अकासे ताल पत्ता लगाएर त्यसको नाम राखेपछि सिर्जनाको चर्चाले नयाँ उचाइँ प्राप्त गरेको छ।
उनले फेसबुकमा लेखेकी छन्, ‘जहाँ पुग्न कुनै पनि गन्तव्यमा सामान्य रुटसमेत छैन। हामी कसरी पर्यटक आउनुपर्छ भनेर आह्वान गरौं। म त बाँचेर आएकी छु। अरूलाई कसरी पुग्नुपर्छ भनौं। त्यही पनि मन दुखाइ–दुखाई आउनुहोला है भन्नुपर्छ।’
यो यात्रामा सिर्जनालाई साइकल यात्री भाष्कर बस्नेतले साथ दिएका थिए। उनीहरूले जुम्लाको नयाँ तालबारे जानकारी गराएका हुन्। भाष्कर दुई वर्षअघि सो ताल पुगेर आएका थिए। ‘शब्दमा दूधकुण्डली ४ हजार ६०० मिटर उचाइमा छ,’ फेसबुकमा सिर्जनाले लेखेकी छन्, ‘अनि अकासे ताल ४ हजार ७०० मिटर उचाइमा छ। दूधकुण्डलीभन्दा अकासे ताल सुन्दर र रोमाञ्चक लाग्छ।’
जुम्लाको गुठीचौर गाउँपालिका–१ चोत्रा गाउँको घाटा पाटनमा रहेका ताल स्थानीय साङबो गुरुङले पहिलो पटक देखेको सिर्जनाले बताएकी छन्। तालको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘नयाँ कुरा खोज्न र नदीको मुहानसम्म पुग्न जति उत्साह हुन्छ मनमा, यात्रा त्यति नै कष्टकर हुन्छ।’
तस्बिर र भिडियोहरूमा कर्णालीबासीको जीवनशैली जति सुन्दर र लोभलाग्दो छ, वास्तविकता त्योभन्दा निकै कठिन रहेको सिर्जना बताउँछिन्। नयाँ ठाउँ, नयाँ भूगोल, अपरिचित मानिस। खनपान, स्वास्थ्य अवस्थालाई बरोबर ख्याल राख्दै यात्रा गर्नु कम जोखिमपूर्ण होइन।
तर कर्णालीलाई नै आफ्नो घर मान्ने सिर्जनालाई अब कर्णाली चहार्नु भयको विषय भएन। ‘कतिलाई डर पनि लाग्ला। डर मान्नु पनि स्वाभाविकै हो। महिलाका लागि अझै सुक्षित मानिँदैन, नेपाल। तर त्रासपूर्ण पनि छैन,’ फेसबुक स्टाटसमा उनले लेखेकी छन्, ‘म कर्णालीलाई घर सम्झिन्छु। घरभित्रको कुरा जे–जस्तो भए पनि सहनुपर्छ। जसरी पनि घरलाई सुन्दर बनाउनुपर्छ भनेर लागेकी हुँ। घरप्रति मेरो कुनै गुनासो छैन।’
उनले सबैभन्दा धेरै सामना गर्ने प्रश्न हो, ‘यसरी खर्च कसले दिन्छ?’
केही समय अगाडि सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली उत्सवमा सहभागी सिर्जनाले भनेकी छन्, ‘म एक यात्री हुँ। मौनतामा यात्रा गर्छु। मलाई कसैको प्रश्नको जवाफ दिनु छैन। समयले दिनेछ, जवाफ। यात्रा एक गहिरो अनुभूति र अनुभव हो। यसलाई भन्न, सुन्न र सुनाउन सजिलो छैन।’
सिर्जनाले कैद गरेका सुन्दर भिडियो हेरेर उनलाई आफ्नो गाउँ बोलाउने मानिसको कमी छैन, कर्णालीमा। उनी जहाँ जान्छिन्, त्यहाँ खान र बस्नको समस्या हुँदैन। त्यहाँ पुगेर उनले नयाँ तस्बिर र भिडियो खिचेर देश दुनियालाई देखाउने ठाउँमा पुर्याएकी छन्। त्यही कुराले स्थानीय आभारी बन्छन्। प्रकृति मात्र होइन, ती मानिस र तिनको व्यवहार प्रिय लाग्छ, उनलाई।
उनी पुगेका स्थानबारे जानकारी दिनु, त्यहाँको भौगोलिक, सामाजिक तथा प्राकृतिक वस्तुस्थितिबारे भिडियोमार्फत जानकारी दिने सिर्जनाको शैली छ। यसले उनले युट्युबमा राखेका सामग्री दर्शकको रोजाइमा पर्ने गरेका छन्। ‘डुल्नु, घुम्नु त छँदै छ, समाजलाई पनि अगाडि बढाउन सकियो भने झनै राम्रो,’ उनी भन्छिन्।
कर्णालीमा थुप्रै सम्भावना छन्। त्यसमध्ये पर्यटन क्षेत्रमा मात्र काम गरेको सिर्जनालाई लाग्छ। पर्यटन अभियानमा लागेकी सिर्जनालाई १० वर्षपछि कर्णालीको पर्यटनले फड्को मार्ने विश्वास छ। सिर्जनाका भ्लग हेर्न यहाँ क्लिक गर्नुहोस्।