मासुका लागि वर्षेनि करोडौँ जनावर पालिने र हत्या पनि हुने गरेको छ। जनावरको हत्या नगरी मासु खान मिल्ने भएको भए संसार कस्तो हुन्थ्यो होला? जनावरको हत्या नगरी ल्याबबाट तयार गरिएको मासु खान मिले त बिग्रँदो जलवायु परिवर्तनको असर न्युनीकरणमा योगदान पुग्ने गरी मात्र नभएर शरीरका लागि हानिकारक मानिने उच्च कोलेस्टेरोलको मात्रा पनि नियन्त्रणमा लिन सहयोग पुग्ने हुन्थ्यो।
'कृत्रिम मासु भनेको जनावरकै कोषहरुबाट उत्पादित मासु हो,' अपसाईड फूड्सकी संस्थापक तथा सीईओ उमा भ्यालेटी भन्छिन्, 'यो शाकाहारी होइन। किनभने यो साँच्चिकै नै मासु हो। तर जनावरको हत्या नगरी ल्याबमा तयार गरिएको मासु।'
'कृत्रिम मासुको उत्पादन गर्ने प्रक्रिया बियर बनाएजस्तै हो। फरक यत्ति हो- बियर बनाउँदा मर्चा (यिस्ट) प्रयोग गरिन्छ। कृत्रिम मासु बनाउँदा जनावरको कोष प्रयोग गरिन्छ र त्यसलाई नै बढाइन्छ,' भ्यालेटीले थपिन्।
वैज्ञानिकहरुले जीवित जनावरबाट थोरै कोषका नमुना लिन्छन् अनि तिनलाई बढाउन सकिन्छ कि सकिँदैन भनेर जाँच गर्छन्। 'त्यसपछि ती कोषहरुलाई सफा तथा नियन्त्रित वातावरणमा राखी आवश्यक पोषक तत्त्व दिइन्छ। त्यहाँ तिनीहरुको संख्या गुणन हुँदै प्राकृतिक रुपमा वृद्धि हुन थाल्छ,' भ्यालेटी भन्छिन्, 'ठ्याक्कै भन्ने हो भने जीवित जनावरको शरीरमा हुने कोष गुणनको प्राकृतिक प्रक्रियालाई हामीले कृत्रिम रुपमा सिर्जना गर्न सक्छौँ।'
'यो हिंसारहित मासु हो,' लाईफ ईट्सेल्फसम्मेलनमा फ्लोरिस इन्ककी संस्थापक क्रिस्टियाना मस्कले भनिन्। लाइफ इट्सेल्फ सिएएनसँगको सहकार्यमा आयोजित स्वास्थ्यसम्बन्धी कार्यक्रम हो। फ्लोरिस इन्क खानेकुराको विकासबारे छलफल गर्ने संस्था हो।
'प्रयोगशालाबाट व्यावसयिक उत्पादन सुरु गर्न थालेका कतिपय कम्पनीले यसलाई ‘ल्याब-उत्पादित मासु' भन्न छाडिसकेका छन्,' नेदरल्यान्डस्थित खाद्य कम्पनी मोजा मिटका प्रवक्ताले भने। तिनले यस्तो कृत्रिम मासुलाई ‘उत्पादित मासु’, ‘कोष-आधारित मासु’, ‘हिंसारहित मासु’, आदि संज्ञा दिन थालेका छन्।
000
यसरी उत्पादित मासुले जलवायु परिवर्तन को असर न्यूनीकरणमा पनि उल्लेख्य भूमिका निभाउँछ। मिथेनजस्ता हरितगृह ग्यासको उत्पादन नहुने भएकाले कृत्रिम मासुले पर्यावरणमा प्रतिकूल असर गर्दैन। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा मासुका लागि गरिने पशुपालनको हात रहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार यसरी पशुपालन गर्दा वनजंगल फडानी हुनेसँगै अत्यधिक मात्रामा कार्बन तथा मिथेन उत्पादन हुन्छ।
'कृत्रिम मासु उत्पादनले पशुपालनका लागि प्रयोग हुने पानीको कम खपत हुने, वनजंगल नमासिनेजस्ता कारणले दिगो विकासमा राम्रै भूमिका खेल्ला,' टफ्ट्स विश्वविद्यालयका बायोमेडिकल इन्जिनियरिङका प्राध्यापक डेभिड काप्लानको विश्वास छ। व्यावसायिक पशुपालनबाट निस्कने कार्बनडाइअक्साइड र मिथेनयुक्त फोहोर वायुमण्डलमा उत्सर्जन हुँदा पर्यावरणीय असर परेको छ।