काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू:
-संगठित ठगीको आशंकामा काठमाडौं तीनकुनेस्थित स्काई वर्ल्ड कल सेन्टरमा प्रहरीको छापा, कल सेन्टरकै नाममा ह्वाट्सएपबाट ठगी गर्ने ९ जना बुटवल प्रहरीको नियन्त्रणमा। संगठित ठगी
-प्रदेश १ मा ११ हजार डोज कोरोना खोप कोभिसिल्ड प्रयोग गर्न अयोग्य, पछिल्लो २४ घण्टामा देशभर थपिए ५ सय ६८ कोरोना संक्रमित। बढ्यो कोरोना संक्रमण
-संघ र प्रदेशको चुनावमा एक उम्मेदवारको खर्च अर्बभन्दा बढी हुने प्रचण्डको आकलन, नागरिकता विधेयक अल्पमतको विचार लागू हुने गरी ल्याइएको नारायणकाजीको टिप्पणी। महँगो चुनाव
-हजयात्रामा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्न अख्तियारलाई महिला समितिको निर्देशन, निर्धारित समयमा फास्ट ट्र्याकको काम नसकिने विकास समितिको ठहर। मिनिसंसदका कुरा
-साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालको उत्कृष्ट सुरुवात: दिपेश गुरुङ, सुगम सुवाल, कृतिस छुन्जु र मनग्य नकर्मीले गरे एक-एक गोल। नेपालको उत्कृष्ट सुरुवात
कल सेन्टरमा छापा शृंखला
तीनकुने गैह्रीगाउँस्थित स्काइ वर्ल्ड कल सेन्टरमा प्रहरीले छापा मारेको छ। व्यवसायी सुरज वैद्यको घर भाडामा लिएर कल सेन्टरका नाममा अवैध गतिविधि गरेको आशंकामा छापा मारेको जानकारी दिएको छ।
दुई हजारभन्दा बढी कर्मचारी कार्यरत कल सेन्टरमा प्रहरीले छापा मार्दा त्यहाँ कार्यरत कर्मचारी बाहिरिएका थिए। व्यवस्थापन पक्षसँग प्रहरीले अहिले सोधपुछ गरेको थियो।
कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको र पैसा असुल्दै आएको बुझिएको छ।
आइतबार दिउँसो रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ४ तलाको घरमा ३ वटा फ्ल्याट लिई सञ्चालन गरिएको ब्लु स्काई कल सेन्टरमा प्रहरीले छापा मारेको थियो। ह्वाट्सएपबाट ठगी गर्ने गरी कल सेन्टर सञ्चालन गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
ठगी धन्दा चलाएको आरोपमा भारतीय नागरिक जिसाजसहित ९ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। सर्वसाधारणलाई चिठ्ठा परेको म्यासेज पठाउने, अश्लील म्यासेज पठाएर चरित्र हत्या गरी रकम उठाउने जस्ता काम गर्दै आएको पाइएको हो।
सोमबार छापा मारिएको कल सेन्टरमा ६ महिनाअघि पनि प्रहरीले छापा मारेको थियव। कलसेन्टरमा काम गर्ने सञ्चालक र कर्मचारीबीच विवाद भएपछि प्रहरी कल सेन्टरमा पुगेको थियो।
सञ्चालकको खातामा जानुपर्ने पैसा सिधै कर्मचारीको मोबाइलमा पुगेपछि कल सेन्टर व्यवस्थापकले मोबाइल जफत गरेपछि प्रहरी पुगेको थियो।
आइतबार चिनियाँ नागरिकले यहाँबाट साइबर अपराध गरिरहेको सूचना पाएपछि छापा हानेको थियो। त्यसक्रममा ७ जना महिला कर्मचारीहरुले प्रहरीको सर्च अपरेसनमा अवरोध गर्न खोजेका थिए। अवरोध गर्न खोज्नेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त, गौशालामा राखिएको छ।
कल सेन्टरका नाममा हुने गरेका ठगी बारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ। ७ पुस २०७६ मा पनि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा सर्च अपरेसन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।
उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि चीनले जहाज नै चार्टर गरी पठाएको थियो। यो अपरेसनलाई नेपाल र विदेशी प्रहरीको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त कारबाही मानिने गरेको छ।
खपत हुँदैन खोप, बढ्यो कोरोना
प्रदेश १ मा कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा प्रयोग गर्न अयोग्य बनेको छ। आपूर्ति व्यवस्थापन केन्द्रलाई असार अन्तिममा खोप आएकाले प्रयोग हुन नसकेको प्रदेश १ सरकारले जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार अन्तिममा प्रदेश १ का लागि १२ हजार डोज कोभिशिल्ड पठाएको थियो। तर प्रदेश १ का जिल्लामा खपत नभएपछि खोप केन्द्रमै प्रयोग गर्न अयोग्य बनेको आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए।
यसअघि पनि खोप प्रयोग हुन नसक्दा आष्ट्राजेनेकाको ५० हजार मात्रा प्रयोगविहीन बनेको थियो। प्रदेश १ मा ७९ प्रतिशतले कोभिड १९ विरुद्धको खोप पूर्णमात्रामा लगाएका छन्।
यसैबीच पछिल्लो २४ घण्टामा देशभर ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार ८०० जनाको परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने ९५ जना संक्रमणमुक्त भएका छन्। देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको छ।
सोमबार काठमाडौंमा २४२, भक्तपुरमा १७ र ललितपुरमा ३६ जना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ४१९ पुगेको छ। सोबार ४१ जिल्लामा कोभिड–१९ का संक्रमित भेटिएका छन्। अस्पतालमा रहेकामध्ये २७ जना आईसीयूमा र दुई जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
महँगो चुनावको चिन्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने भने चुनाव जित्न नसकिने टिप्पणी गरेका छन्।
स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको बताउदै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्बमाथि खर्च हुने उनको आकलन छ।
सोमवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले श्रमजीवि जनता र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने कुरा सपना झैँ भएको बताएका हुन्। भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उनले भनाई राखेका छन्।
अध्यक्ष दाहालले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरसाह पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताएका हुन । देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने दाबी समेत गरेका छन्।
नागरिकता बहस
राष्ट्रिय सभाका सांसदहरूले वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्दा ७ वर्षे समयसीमा राख्नुपर्ने बताएका छन्। सोमबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा सांसदहरुले यस्तो धारणा राखेका हुन्।
नेता वामदेव गौतमले वैवाहिक अंगीकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।
सांसद देवेन्द्र दाहालले वैवाहिक अंगीकृतलाई नागरिकता दिन सात वर्षे प्रावधान राख्नुपर्ने धारणा राखेका थिए। यस्तै, सासंद नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धी विधेयक अल्पमतको विचार लागू हुनेगरी ल्याइएको टिप्पणी गरे।
सांसद डा. विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताइन्। खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने आशंका व्यक्त गरे।
सांसद वेदुराम भुसालले विधेयक संविधान अनुकुल भएता पनि वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धी विवाद टुंग्याउनका लागि पनि विधेयकमा सुधार गनुपर्न बताएका थिए।
यता सांसद जितेन्द्रनारायण देवले भने नागरिकतासम्बन्धी विधेयक पूर्ण रुपमा संविधानको अक्षर र भावना अनुरुप भनदै वैवाहिक अंगीकृतका लागि नागरिकता दिन अवधि तोक्ने हो भने संविधानको व्यवस्थामा नै पुनर्विचार गर्नुपर्ने तर्क गरे।
विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले करिव ६ लाख भन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको भन्दै नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको बताएका थिए।
नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ। विधेयकमा वैवाहिक अंगीकृत नागरिकता लिनका लागि कुनै समयसीमा तोकिएको छैन। एमाले भने समयसीमा राख्नुपर्ने अडानमा भएपनि सरकारमा सहभागी दलहरूले प्रतिनिधिसभाबाट पारित गराइसकेका छन्। ४ वर्षसम्म संसदले काम गरेको नागरिकता विधेयकलाई फिर्ता गरेर सरकारले नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराएको थियो। सरकारले नयाँ विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने गरी काम अघि बढाएको छ।
हत्यापछि आत्महत्या
चितवनको भरतपुर महानगरपालिका–१० रमाइलोचोकका कृष्णप्रसाद आचार्यले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरे । हत्यापछि भाग्नक्रममा तीन तलामाथिबाट हाम फाल्दा उनको पनि मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नै निवासमा शनिबार राति करिब १०ः२५ बजेतिर ३५ वर्षीया श्रीमती रुस्मालाई ४३ वर्षीय कृष्णप्रसादले खुकुरी प्रहार गरेका थिए । हत्यापछि भाग्न खोज्दा तीन तलाबाट झरेका उनको घटनास्थलमै मृत्यु भएको छ। लामो समय विदेश बसेर हालै फर्किएका कृष्णले घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । श्रीमान् विदेश हुँदा रुष्मा शिक्षण पेशामा आबद्ध थिइन्।
रुष्माले गत असार २ गते घरेलु हिंसा भएको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन्। उक्त विवादका विषयमा तीन पटक छलफल गरेर अदालती प्रक्रियामा जाने दुवैपक्षबीच सहमति समेत भएको थियो । दोस्रो तलामा श्रीमती र तेस्रो तलामा श्रीमान् बस्नेगरि सहमति भएको थियो। ग्राउन्ड र पहिलो तला भने उनीहरूले भाडामा लगाएका थिए। उनीहरूका १२ वर्षीया छोरी छन्। आइतबार घटना हुँदा घरमा छोरी मात्रै थिइन्।
हजयात्रामा भ्रष्टाचार
संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक विकास समितिले हजयात्रामा अनियमितता भएको भनिएको विषयमा अनुसन्धान गर्न निर्देशन दिएको छ।
सोमबार बसेको समितिको बैठकले हजयात्राका व्यवस्थापनका सम्बन्धमा भएको खर्चलगायतका विषयमा भएको अनियमिततामाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन जारी गरेको हो। समितिले प्रभावकारी खर्च गराउन र हजयात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नहुनुको कारण समेत पेस गर्न निर्देशन दिएको छ। आयोगका पदाधिकारीहरू भ्रमणमा जान मात्र चाहन तर मुस्लिम नागरिकको अवस्था सुधारमा केन्द्रित नभएको समितिको ठहर छ।
द्रुतमार्गको काम सुस्त
यस्तै विकास तथा प्रविधि समितिको बैठकले काठमाडौं–तराई/मधेस द्रुतमार्ग योजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निष्कर्ष निकालेको छ ।
ठेक्का व्यवस्थापनका काम हुन नसकेकाले निर्धारित समयमै काम सम्पन्न नहुने ठहर गरेको हो। समितिले आयोजनाको लागत बढ्न नदिन तथा गुणस्तरीय काम गर्नमा जोड दिएको छ।
त्यस्तै बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा वातावरणीय पक्षहरु इआइए र इएमपीको कार्यान्वयनको अवस्था र तेस्रो पक्षबाट अनुगमनबारे १५ दिनभित्र समितिलाई जानकारी दिन पनि निर्देशन दिएको छ।
१६४ देशका सामग्री प्रयोग गर्छन् नेपाली
गत आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न वस्तु आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
विभागले सोमबार सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो।
सबैभन्दा धेरै आयात भारतबाट रु १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो। १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो। नेपालले भारतसँग मात्रै रु दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो।
दोस्रो ठूलो मात्रामा आयात चीनबाट भएको छ। एक वर्षको अवधिमा चीनबाट रु दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको छ । ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो।
मुर्मुले लिइन् शपथ
भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार शपथ लिएकी छन्। भारतको १५औँ राष्ट्रपतिका रुपमा निर्वाचित ६४ वर्षीया मुर्मुलाई प्रधानन्यायाधीश एनभी रमनले शपथ दिलाएका हुन्।
राष्ट्रपति मुर्मु आदिवासी समुदायबाट पहिलो पटक भारतको राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो।
भारतमा उपराष्ट्रपति चयनका लागि आगामी अगस्ट ६ मा निर्वाचन हुने भएको छ। वर्तमान उपराष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिँदैछ। उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो।
बर्मेली अभियन्तालाई मृत्युदण्ड
म्यान्मारको सैनिक सरकारले चार जना लोकतन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको छ। ‘आतंककारी कार्य’ मा संलग्न रहेको अभियोगमा उनीहरुलाई मृत्युदण्ड दिइएको म्यान्मारको सैनिक सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अभियानकर्मीको जिम्मी भनिने क्याउ मिन यू र विधायक एवम् हिपहप कलाकार फ्यो जेया थवलाई सैनिक सरकारले मृत्युदण्ड दिएको बीबीसीले जनाएको छ। त्यस्तै, राजनीति एवम् लोकतन्त्रवादी अभियानको क्षेत्रमा खासै चर्चा नहुने ह्ला म्यो आङ र आङ थुरा जवलाई पनि मृत्युदण्ड दिएको छ।
नेपालको शानदार जित
साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।
माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक-एक गोल गरे।
माल्दिभ्सले पनि केही अवसरलाई खेर फालेको थियो। जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ।
अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ। त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन्।