शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • यी युट्युबर, जो अरुको निजी जीवनमा घुस्दै चरित्रहत्या गरिरहेछन्

यी युट्युबर, जो अरुको निजी जीवनमा घुस्दै चरित्रहत्या गरिरहेछन्

 |  आइतबार, साउन २४, २०७८

अनिल यादव

अनिल यादव

आइतबार, साउन २४, २०७८

‘कोठाभित्र रंगेहात भेटिए स्मृति र साजन, पेटको बच्चा फालेको हो/होइन? भोजराजले खोजीखोजी यसरी भेटे’

triton college

युट्युबर भोजराज थापालाई पछ्याउनुहुन्छ भने पक्कै हेरेको हुनुपर्छ, गत साउन १६ गते उनको च्यानल ‘मेचीकाली खबर’मा अपलोड भएको एउटा भिडियो, जसको शीर्षक यही थियो।

लाखौँ भ्युज पाएको यो भिडियो युट्युब ट्रेन्डिङको नम्बर ६ सम्म उक्लिएको थियो। राम्रै भ्युज पाइरहेको यो भिडियो भोजराजले अपलोड गरेको भोलिपल्टै हटाए। तैपनि टिकटक, फेसबुकदेखि अन्य युट्युब च्यानलमा भने अझै पनि छ्याप्छ्याप्ती पाइन्छन्, यो भिडियो र यसका क्लिपहरू।

अपलोड गरेको २४ घण्टा नपुग्दै उनी भिडियो हटाउन किन बाध्य भए? अलिकति अनुमान त शीर्षक पढेरै पनि गर्न सकिन्छ। तर यसको अन्तर्य बुझ्न भने भिडियो अपलोड भएको दुई दिनअघि फर्कनुपर्छ।

०००

corrent noodles
Metro Mart

साउन १४ गते भोजराजले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो राखेका छन्, जसको शीर्षक छ– ‘गोविन्दकी १९ वर्षे श्रीमती गर्भपतन गरी बेपत्ता, १७ वर्षे प्रेमीसँग भागेपछि रुँदै श्रीमान् मिडियामा।’

लमजुङका गोविन्द थापाले दुई वर्षअघि आफू २७ वर्षको हुँदा १७ वर्षीया स्मृतिसँग बिहे गरेका थिए। उनीहरूबीच खटपट भइरहेको थियो। स्मृतिले बताएअनुसार गोविन्द उनलाई दिनहुँ यातना दिन्थे। यही क्रममा स्मृतिको सम्बन्ध स्थानीय १७ वर्षिय साजन बसेलसँग झाँगिन सुरु भएको थियो।  

त्यस्तैमा केही दिनअघि गोविन्दसँग खटपट भएपछि घरबाट रिसाएर निस्किएकी थिइन्, स्मृति। गर्भवती पनि थिइन्। तर, गोविन्दले स्मृतिलाई घर फर्काउन कुनै चासो राखेनन्।

स्मृतिले बताएअनुसार फोन गर्दा उल्टै ‘घर आउनु पर्दैन’ भनेर थर्काएका थिए। त्यसपछि स्मृति साजनको शरणमा पुगिन्। दुवै गाउँबाट भागे। जब गोविन्दले यो खबर पाए, त्यसपछि स्मृतिको खोजीमा जुटेनन्, बरु युट्युबर भोजराजको शरणमा पुगे।

माथिको शीर्षक त्यसपछि भोजराजले गोविन्दको 'इन्टरभ्यु' लिएर हालेको बेलाको हो। जहाँ उनी सगर्व भन्छन्, ‘श्रीमती बेपत्ता भएदेखि नै निरन्तर खोजी कार्यमा भौ‌तारिँदै गर्दा गोविन्द यतिबेला सहयोगका लागि हामीमाझ आइपुगेका छन्। दर्शकवृन्द, भिडियोको स्क्रिनमा देखिएका स्मृति थापा र साजन बसेललाई तपाईंले कतै देख्नहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो फोन नम्बर भिडियोको स्क्रिनमा छ, सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।’

उनको प्रस्तुति सुन्दा लाग्छ, मानौँ कि उनी यो देशको ‘न्यायालय’ नै हुन्। उनमा पीडितको गोपनियताको कुनै परवाह नै छैन। भर्खर १७ र १९ वर्ष पुगेका किशोर/किशोरीलाई ‘अपराधी’ करार गर्दै उनीहरूको तस्बिर नै भिडियोमा राखेका छन् भोजराजले। अनि, गोविन्द र स्मृतिको निजी फोन रेकर्ड कार्यक्रममै सार्वजनिक गरिदिन्छन्।

भोजराजले बनाएको यही भिडियो देखेर चितवनबाट एकजना प्रत्यक्षदर्शीले आफूले स्मृति र साजनलाई देखेको भन्दै फोन गर्छन्। त्यसपछि क्यामेराम्यान र गोविन्दलाई साथमा लिएर उनी चितवन पुग्छन्। पसलपसलमा फोटो देखाउँछन्, र सोध्न थाल्छन्, ‘यिनीहरूलाई देख्नुभएको छ?’, ‘कोही भागेर आएका छन् यहाँ?’

यसरी खोज्दैखोज्दै उनी स्मृति र साजन लुकेर बसेको घरसम्म पुग्छन्। र, क्यामेराअघि उभिएर चिच्याउन थाल्छन्, ‘हामीले स्मृति र साजनलाई कोठामा रङ्गेहात पक्राउ गरेका छौँ।’ यसरी भन्छन् कि, मानौँ उनी यौन अड्डामा छापा मार्न जाने प्रहरी हुन् र त्यहाँबाट यौनजोडी पक्राउ गरिरहेका छन्।

उनको प्रस्तुति सुन्दा लाग्छ, मानौँ कि उनी यो देशको ‘न्यायालय’ नै हुन्। उनमा पीडितको गोपनियताको कुनै परवाह नै छैन, भर्खर १७ र १९ वर्ष पुगेका किशोर/किशोरीलाई ‘अपराधी’ करार गर्दै उनीहरूको तस्बिर नै भिडियोमा राखेका छन् भोजराजले।

कोठाभित्र छिरेपछि गोविन्दको पक्ष लिएर एकोहोरो स्मृति र साजनलाई प्रश्न गर्न थाल्छन्, अदालतमा ‘बयान’ लिएझैँ। कोठाभित्र छिर्नासाथ सुरुमा गोविन्दले साजनलाई पिट्छन्। भोजराजले सम्झाउँछन्, ‘हात नहाल्नू?’

साजनले शरीरमा टिसर्ट लाएका हुँदैनन्। भोजराजको ‘बयान’को सुरुवात नै साजनबाट हुन्छ। भन्छन्, ‘ल भाइ के छ त हालखबर? नाङ्गै बसेको? कपडा लगाऊ, कपडा।’

साजनले कपडा लाउनासाथ उनी ‘बयान’ लिन सुरु गर्छन्, ‘यति सानै उमेरमा अर्काको बूढी भगाउने हो त भाइ? तिमीहरूले त मलाई सुत्नै दिएनौँ त। कहिले कता गा’छ, कहिले कता।’

यसरी उनीहरूलाई खोज्दाखोज्दा आफू थाकेको आशय प्रकट गर्छन् भोजराज। स्मृति श्रीमानले आफूलाई सधैँ ‘निस्केर जाँ’ भन्ने र 'टर्चर' दिने गरेको बताइरहन्छिन्। तर भोजराज सुन्न चाहँदैनन्। उल्टै स्मृति र साजनलाई किन झुट बोलेको भन्दै एकोहोरो पेलिरहन्छन्। छेउमा रहेका गोविन्द त हातै हाल्न पुग्छन्।

‘बयान’का क्रममा १९ वर्षिया युवती र १७ वर्षीय युवकलाई ‘अपराधी’ सावित गर्न अनेक प्रयास गरिरहन्छन्, भोजराज। अनेक पात्रहरुसँग फोन लगाएर कुराकानी गर्नसम्म भ्याउँछन्। भिडियो हेर्दा सहजै अनुमान गर्न सकिन्छ, उनी एकोहोरो गोविन्दको पक्ष लिइरहेका छन्। कतिले त युट्युबको प्रतिक्रियामै भोजराजलाई प्रश्न गरेका छन्,‘यसो गरेबापत गोविन्दबाट कति पैसा लिइस्?’

बयान लिइरहेकै बेला चितवन प्रहरी कोठासम्मै आइपुग्छ। र, गोविन्द, स्मृति र साजन तीनै जनालाई पक्राउ गरेर लान्छ। भोजराजले अपलोड गरेको भिडियोमा यी सबै दृश्य देखिन्छ। फेरि पनि दोहोर्‍याऔँ, जसको शीर्षक थियो– ‘कोठाभित्र रङ्गेहात भेटिए स्मृति र साजन, पेटको बच्चा फालेको हो/होइन? भोजराजले खोजीखोजी यसरी भेटे।’

०००

भोजराजको युट्युब च्यानल ‘मेचीकाली खबर’मा १२ लाखभन्दा बढी 'सब्सक्राइबर' छन्। एउटै भिडियो १५ लाखभन्दा बढीले हेरेका छन्। देशविदेशमा परिचित युट्युबर हुन्, भोजराज। र, यस्तो लाग्छ, कसैको निजी जीवनमा घुस्दै चरित्र हत्या गर्नु उनको युट्युब च्यानलको खासियत हो। गोविन्द प्रकरण त त्यसको एउटा उदाहरण मात्रै हो।

उनको अर्को विशेषता पनि छ, ‘सनसनीपूर्ण’ शीर्षक राखेर अरुको निजी सम्बन्धमाथि भिडियो बनाउनु, तर आफैंलाई जोखिम भएपछि तत्काल हटाइहाल्नु। सुरुवाती भ्युजबाट डलर पनि झरिहाल्ने, पछि च्यानलमा हेर्दा नदेखिने पनि।

स्मृति–साजनलाई रंगेहात पक्राउ गरिएको भिडियो भोलिपल्टै हटाउनुको कारणबारे हामीले भोजराजलाई सोधेका थियौँ। जवाफमा उनी अड्किँदै बोलेका थिए, ‘मन लागेर हटाएको।’

तर, पछि बुझ्दै जाँदा आफू पनि फस्ने डरले उनले त्यो भिडियो हटाएका रहेछन्। उनले पक्ष लिएको गोविन्दलाई नै प्रहरीले मुद्दा चलाउने भएपछि उनी डराएका रहेछन्। धेरैलाई थाहा नहुन सक्छ, युट्युबमा चर्चा भएका यी तीन पात्र अहिले कहाँ छन्?

उनको अर्को विशेषता पनि छ, ‘सनसनीपूर्ण’ शीर्षक राखेर अरुको निजी सम्बन्धमाथि भिडियो बनाउनु, तर आफैंलाई जोखिम भएपछि तत्काल हटाइहाल्नु। सुरुवाती भ्युजबाट डलर पनि झरिहाल्ने, पछि च्यानलमा हेर्दा नदेखिने पनि।  

जिल्ला प्रहरी कार्यलय लमजुङमा बुझ्दा तीनै जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको पाइयो। कानुनबमोजिम मुद्दा दर्ता भइसकेकाे छ। प्रहरी निरीक्षक जनक रेग्मीले दिएको जानकारी अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा राखेर बालविवाह र जबर्जस्ती करणी गरी दुई अभियोगमा मुद्दा चलाइएको छ।

त्यस्तै १७ वर्षीय साजनलाई भने जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको रहेछ।

‘जबर्जस्ती करणी कसरी?’ हामीलाई इन्सपेक्टर रेग्मीलाई यसबारे विस्तृतमा बुझ्न खोज्दा जवाफमा उनले उमेर नपुगेका कारण त्यसो गरिएको बताए। ‘१८ वर्ष मुनिकाले सहमतिमै यौन सम्पर्क राखे पनि त्यो जबर्जस्ती करणी नै हुने भयो। उनीहरूको कास्कीमा सम्बन्ध भएको देखियो, त्यसैले कास्की प्रहरीमा राखेर मुद्दा चलाइएको हो,’ उनले भने।

त्यस्तै स्मृतिलाई पनि प्रहरीले बालविवाह र गर्भपतन गरी दुई अभियोगमा मुद्दा चलाएको छ। तर, अदालतले जिम्मा जमानीमा छाडेका कारण उनी भने प्रहरी हिरासतमा छैनन्।

भोजराजले भिडियोमा गोविन्दलाई ‘भगवान्’ बनाएर प्रकट गरिरहेका थिए। तर प्रहरीले उनीमाथि नै मुद्दा चलाइदिएपछि उनको मथिंगल हल्लिएको पाइयो। त्यसपछि उनले पुरानो भिडियो हटाए। र, नयाँ भिडियो अपलोड गरे, जसको शीर्षक छ, ‘यही हो स्मृति, गोविन्द र साजनको खास वास्तविकता, बालबिवाह नै यो घटनाको कारण।’

यसअघिसम्म उनी यो घटनाको दोषी युवतीलाई मात्रै देखिरहेका थिए, तर आफूले पक्ष लिएको व्यक्तिलाई नै प्रहरीले मुद्दा चलाइदिएपछि उनले पनि खास दोष ‘बालविवाह’मै देखे। तर, यही भिडियोमा पनि उनले स्मृतिका बुबासँग फोनमा कुराकानी गरेका छन्। र, स्मृतिले गोविन्दसँग बालविवाह नगरेर राजीखुशी बिहे गरेको पुष्टि गर्न खोजेका छन्। उनको नियतबाटै यसबाट झन् प्रष्ट हुन्छ।

०००

फेरि पनि भनौँ, यो त एउटा उदाहरण मात्रै हो, भोजराजले आफ्नो अधिकांश भिडियोमा कि त कतै भएका अपराधका घटनालाई अतिरञ्जित बनाएर प्रस्तुत गरिरहेका हुन्छन्, कि त कोही परिवार या व्यक्तिको निजी जीवनमा घुसेर चरित्रहत्या।

हामीले फोनमार्फत उनलाई यही प्रश्न गर्‍यौँ,‘तपाईलाई अरूको व्यक्तिगत जीवनमा अलि बढी नै प्रवेश गरेजस्तो, चरित्रहत्या नै गरेजस्तो महसुस भएको छैन?’

जवाफमा उनी एकछिन अकमकिए र भने, ‘म कसैको व्यक्तिगत जीवनमा पसेको होइन। मलाई बोलाएपछि मात्रै गएको हो।’ त्यसपछि उनले थप जवाफ दिन चाहेनन्, फोन काटे।

युट्युब भिडियो र भ्युजका लागि भोजराज कतिसम्म गिर्न तयार हुन्छन्, थप केही दृष्टान्त पनि हेरौँ।

केही साताअघि चितवनस्थित ब्रह्मास्थानी सामुदायिक वनमा सुजिता भण्डारीको रहस्यमय मृत्यु भएको अवस्थामा शव फेला परेको थियो। पछि यो घटनामा प्रहरीले आफ्नै ठूलोबुबाका छोरासँगको प्रेम सम्बन्धका कारण आत्महत्या गरेको ठहर त गर्‍यो, तर जतिबेला सुजिताको शव भेटिएको थियो, त्यतिबेला एक युट्युबरमाथि चितवनवासी घटनास्थलमै खनिएको भिडियो भाइरल भएको थियो। युट्युबरलाई लखेटिएको खबरले चौतर्फी चर्चा पाएको थियो।

सुजिता बेपत्ता भएका बेला भोजराजले उनकी आमासँग इन्टरभ्यु लिएका थिए। स्थानीयको आरोप के थियो भने त्यतिबेला भोजराजले सुजिताकी आमालाई ‘यसरी रुनुस् न’ भनेर जबर्जस्ती रुन लगाएको आरोप थियो।

ती युट्युबर थिए, यिनै भोजराज थापा। सुजिता बेपत्ता भएका बेला भोजराजले उनकी आमासँग इन्टरभ्यु लिएका थिए। अन्तर्वार्ताका क्रममा त्यतिबेला भोजराजले सुजिताकी आमालाई ‘यसरी रुनुस् न’ भनेर जबर्जस्ती रुन लगाएको स्थानीयको आरोप थियो।

अरुको भावना बेचेर युट्युबबाट पैसा कमाउन हदैसम्म गिरेको उनलाई आरोप थियो। यसले भोजराजलाई निकै चिन्तित बनायो। त्यसपछि यो आरोप चिरियोस्, आफ्नो छवि नधमिलियोस् भनेर उनी मध्यरात जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी सुजिताकी आमाको शरणमा पुग्न बाध्य भएका थिए। त्यहाँ उनले सुजिताकी आमालाई 'मलाई जबर्जस्ती रुन लगाइएको होइन' भन्न लगाएका थिए। त्यही कुराको भिडियो पछि उनले युट्युबमा राखेका थिए।

यति मात्रै कहाँ हो र! चितवनमा यसअघि चर्चामा आएको सविता भण्डारी मृत्यु प्रकरणमा पनि भोजराजले बनाएका भिडियो कन्टेन्ट पत्रकार आचारसंहिता विपरीत थियो। अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा चलिरहेको थियो तर यता युट्युबरहरु आफैँ न्यायाधीश बनेर ‘हत्या’ घोषणा गरिरहेका थिए। युट्युबमा नजर-२ मा हामीले यसबारे विस्तृत सामग्री तयार गरेका थियौँ।

प्रकाशित: Aug 08, 2021| 18:42 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्