काठमाडौं– पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा ल्याएको छ ।
कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन्। यस संग्रहमा ८७ कविता संग्रहित छन्।
पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन्, ‘कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए। सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वर्षौं जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खसी छु।’
भुटानी मूलका नेपाली–भाषी कवि प्राचीनका निजात्मक शैलीका कवितालाई कवि नवराज पराजुली ‘सुफी–शैलीका कविता’ भन्न रुचाँउछन् ।
‘प्वाँख’ भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ’, पुस्तकबारे कवि पराजुली भन्छन्, ‘सायद मेरो हृदयको अन्तध्र्वनि थियो। उनका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ। सायद मेरो हृदयको अन्तर्झिल्का थियो। तर कति चाहेर पनि कतै पढ्न पाएको थिइनँ। आज कविताले नवीनलाई चुन्दा, त्यो अन्तध्र्वनि र अन्तर्झिल्काले भाषा पाएको छ।’
‘प्वाँख’ कविता संग्रह हालै एक कार्यक्रमबीच अमेरिकाको न्यूयोर्कमा विमोचन गरिएको थियो।