बुधबार, फागुन २०, २०८२

खानेकुरा खोज्दै दिनहुँ २६० किमी उड्छन् अर्जेन्टिनी सुगा

करिब ३७ हजार गुँड भएका यस क्षेत्रका पहाडहरु विश्वकै सबैभन्दा ठूलो सुगा बस्ती हो।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

अर्जेन्टिनामा पर्ने पाटागोनियाको मरुभूमि आसपासको एल कोन्डोरको आकाशमा बादल मडारिए सरह  चिरबिराउँदा रङ्गिबिरङ्गी सुगा उडिरहेका देखिन्छन्।

करिब ३७ हजार गुँड भएका यस क्षेत्रका पहाडहरु विश्वकै सबैभन्दा ठूलो सुगा बस्ती हो। 

यी सुगाहरुले बलौटे पहाडमा लगभग ३ मिटरसम्म गहिरो सुरुङ खनेर आफ्नो गुँड तयार गर्दछन्। त्यस्तो गुँडलाई अँग्रेजीमा ‘बरो’ भनिने हुँदा यी सुगाको नाम नै ‘बरोइङ प्यारोट’ राखिएको हो। 

आँखा वरिपरि सेता गोलाकार अनि हरिया प्वाँखले सजिएका बरोइङ प्यारोट बञ्जर जमिन पारिको एटलान्टिक महासागरलाई नियाल्छन्। जब यी सुगा उड्छन्, यिनका चम्किला निला र राता पखेटाले आकाश नै टल्काउँछन्।

कुनै समय दक्षिण अमेरिका ढाक्ने  यो प्रजाति अहिले एल कोन्डोरका भिर-पाखामा मात्र सीमित भएको छ। यी चराको संख्या घट्दो छ।

kumari

अर्जेन्टिनी मोन्टेमा सुगाको खाद्यस्रोत तीव्र गतिमा घटिरहेको छ। सुगालाई मन पर्ने मरुभूमिमा हुने घाँसेमैदान र स-साना झार बुट्यान विनाश भएसँगै यिनको खाद्यस्रोतको नाश भएको हो।

बचेरालाई खाना खोज्न बरोइङ सुगा आफ्नो गुँडभन्दा ३ घण्टासम्म टाढा उड्न बाध्य छन्। खाना खोज्ने क्रममा औसतमा एउटा सुगाले प्रत्येक दिन २६४ किलोमिटरसम्म उड्ने गरेको जसटस लाइबिग विश्वविद्यालय जर्मनीका वैज्ञानिकहरू बताउँछन्।

यसका अतिरिक्त पर्यटनले पनि सुगाको जीवनशैलीमा प्रतिकूल असर पारेको छ।

सुगाले ढाकेको आकाश


सिएनएनमा आइतबार प्रसारण हुने 'पाटागोनियाः विश्वको धारमा जीवन' कार्यक्रम पाटागोनियाका अर्जेन्टिनी निर्देशक केभिन जावलीले यहाँका सुगालाई १० वर्षअघि पहिलो पटक देखेका थिए। आकाशै ढाकेर उडेका सुगाले उनलाई एल कोन्डोर स्वागत गरेका थिए। समुद्र किनार फर्कने क्रममा उनको समूहले धेर्यका साथ ती सुगाका गतिविधि नियालेको थियो। 

विशेष क्षणहरुलाई पर्खँदै उनीहरुको समूहले त्यहाँ  २० दिन बितायो। चराहरुको चिरबिर सुन्दै तिनका आनीबानी अध्ययन गर्नमा उनीहरू व्यस्त रहे। बरोइङ सुगाले जीवनभर एउटा मात्र विपरीत लिंगी सुगासँग शारीरिक सम्बन्ध राख्छन्। जोडी सुगा जीवनभर सबै काममा सँगसँगै हुन्छन्। 

जावली सुगाको जोडीमा रहेको प्रगाढ प्रेम र सद्भाव देखेर छक्क परे। उनीहरुले एक-अर्काप्रतिको हेराई र छुवाईले उनलाई साह्रै छोयो। यी सुँगाले प्रेम व्यक्त गर्न चुम्बन गरिरहन्छन्। स्नेहपूर्ण यस्ता झलकमाझ केही तनावपूर्ण झलक पनि स्वाभाविक रुपमा देखिन्थे।


बरोइङ सुगाहरु पेरेग्रिन फाल्कन नामक अर्को चराका शिकार हुन्। शक्तिशाली  बाज प्रजातिमा पर्ने पेरेग्रिन फाल्कन ३८६ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ। यो फाल्कन पृथ्वीकै सबैभन्दा छिटो उड्ने पन्छी हो। यो फाल्कनको उडान यति तीव्र थियो कि केभिनको समूहले राम्रोसँग क्यामेरामा उतार्न पनि सकेन।

000

सुगाका बचेरा उत्सुकताका साथ बाहिरी दुनियाँ नियाल्न आफ्नो गुँडबाट बाहिर घस्रिँदा कतिपटक भुईंमा झर्नुपर्छ। केभिनको समूहले यसरी गुँडबाट खसेको चल्लाले एकएक ईन्च सरेको दृश्य हेरेर सिङ्गै एक दिन बिताए।

बलौटे ढुँगाको पहाडमा सुगालाई अरु पनि खतरा छन्। यस्ता ढिस्काहरु बेलाबेला आफैँ भत्किन्छन्। यसरी भत्किने क्रममा गुँडभित्र रहेका सयौँ सुगाको मृत्यु हुन्छ। खुला वातावरण र क्षितिज पारी देखिने एट्लान्टिक महासागरको मोहले होला, हरेक वर्ष जाडो छेक्न बसाईँ सरेका सुगा यहीँ फर्किन्छन्।

सुगाको संरक्षण

खतरामा परेका प्रजातिहरुको संरक्षणका लागि रातो सूची तयार गर्ने अन्तर्राष्ट्रिय संघले बरोइङ सुगालाई ‘कम चिन्तनीय’ रहेको ठहर गरेको छ। तर, यिनको संख्या भने तीव्र गतिमा घटिरहेको छ।

आकर्षित रूपरंगका कारण यी सुगा गैरकानुनी व्यवसायको शिकार बनेका छन्। बालीनाली हानी पुर्‍याउने भएको कारण पनि यिनिहरूको शिकार गरिन्छ। सामान्यतया यी चराको बासस्थान निश्चित हुने गरेकाले मान्छेलाई उनीहरूको शिकार गर्न सजिलो हुन्छ। 


१६ वर्षअघि जावलीले वन्यजन्तु फोटोग्राफी तथा फिल्म बनाउन सुरु गरेका थिए। उनले सानो छँदा घुमेका ठाउँमा यतिबेला थुप्रै परिवर्तन भइसकेका छन्। उनलाई डर छ- समयमै संरक्षणका लागि उपयुक्त कदम नचाले ‘एडभेन्चर भूमि'ले विश्वकै सर्वाधिक ठूलो सुगाबस्तीलाई गुमाउने छ।

अनि सुगा मात्र नभई पाटागोनियालाई आफ्नो गृहथलो बनाएका अन्य जीवजन्तु पनि विनाशको धारमा पुग्नेछन्।

'पाटागोनिया एकदमै विशेष स्थान हो। साथै साह्रै संवेदनशील पनि,' जावली भन्छन्, 'यो ठाउँ अद्वितीय हुनुका साथै जंगली पनि छ। झट्ट हेर्दा टाढाको भएर जस्ताको तस्तै, स्वच्छ देखिए पनि यसको संरक्षण नगरे चाँडै पृथ्वीको अन्य भूभागजस्तै प्रदूषित हुने निश्चय छ।'

(सीएनएनका लागि अस्ली स्ट्रिकल्यान्डले तयार पारेको सामग्रीबाट भावानुवाद गरिएको)

प्रकाशित: Jul 13, 2022| 07:14 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।