काठमाडौँ- राप्रपाको महिला संगठनको बैठकमा कुटाकुट भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफलका क्रममा हात हालाहालको अवस्था आएको हो।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन अध्यक्ष अञ्जना रावलले कुमारी तामाङसहितले हातपात गरेको आरोप लगाएकी छन्। 'कुमारी तामाङ आक्रमण गर्न सुनियोजित रुपमा आउनुभएको रहेछ। बैठकको सुरुदेखि नै अरुलाई बोल्न पनि दिनुभएन। उहाँसँग आएका महिलाहरुले हातपात सुरु गरे,' रावलको भनाइ छ। तामाङ राप्रपा सिन्धुपाल्चोक क्षेत्र नं २ की क्षेत्रीय अध्यक्ष हुन्।
तामाङले पार्टीको नेतृ रविना शाहीमाथि हातपात गरेपछि केही समयमा परिस्थिति तनावग्रस्त भएको थियो। रावलले पार्टी महामन्त्री कुन्ती शाहीको निर्देशनमा घटना भएको आरोप लगाएकी छिन्। विवाद छुट्याउन पुगेका महामन्त्री राजेन्द्र गुरुङ घाइते भएका छन्।