सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजनीतिक नेतृत्वकै कारण नागरिकमा असन्तुष्टि बढ्यो : सभामुख सापकोटा

राजनीतिक नेतृत्वकै कारण नागरिकमा असन्तुष्टि बढ्यो : सभामुख सापकोटा

स्थानीय तह निर्वाचनमा काठमाडौं, धरानलगायतका ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी हुनुमा विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट नरहेको संकेत गरेको सभामुखको दाबी।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलका नेतृत्वमा रहेकाहरूकै कारण जनता अहिलेको परिस्थितिप्रति असन्तुष्ट रहेको बताएका छन्।

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’ उद्घाटन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।

उनले संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा इमानदार उम्मेदवारलाई जिताउन पैसाको खोलो बगाउने डरलाग्दो विकृति अन्त्यका लागि राजनीतिक दलहरूबाटै पहल हुनुपर्ने धारणा राखे।

‘निर्वाचनमा हुने सबैखाले विकृति अन्त्यका लागि अभियान सञ्चालन गर्न युवाहरूलाई आग्रह गर्छु। युवा पुस्ताले राजनीतिलाई सही लिकमा ल्याउने पहल गर्नुपर्छ। राजनीतिलाई पैसा कमाउने माध्यम बनाउने हो भने राजनीतिक दलप्रति जनताको वितृष्णा झनै बढ्नेछ’, सभामुख सापकोटाले भने।

सभामुख सापकोटाले युवाले निर्वाचनमा हुने विकृतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरीकनै निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको बताए।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर राजनीतिक नेतृत्व अघि बढ्न ढिला भइसकेको धारणा व्यक्त गरे।

सभामुख सापकोटाले भने, ‘काठमाडौंको चुनाव र त्यसपछि अन्यत्रका चुनावले के देखाएको छ  भने विद्यमान परिस्थितिबाट तपार्इं, हामी र सबै जनता सन्तुष्ट छैनन्। यो असन्तुष्टि शालीन र निर्वाचनको माध्यमबाट जनताले अभिव्यक्त गरेका छन्। यो कुरा नेपालका राजनीतिक पार्टीहरूले, नेपालको राजनीतिक नेतृत्वमा बसेकाहरूले, हामी सबैले बुझ्न सकेनौं भने अवस्था अर्कै हुन सक्छ।’

आगामी संघीय र प्रदेशसभा निर्वाचनमा युवा पुस्ताले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रूपमा मात्रै होइन, सही, असल, इमानदार उम्मेदवारलाई जिताउन यो अभियान सार्थक हुने विश्वास उनले व्यक्त गरे। 

उनले भने, ‘निर्वाचनमा सबैभन्दा डरलाग्दो कुरा तपाईं–हामी सबैले देखिरहेका छौं। निर्वाचनका पैसाको खोलो यति बगाइन्छ, त्यो भनिसाध्य छैन। जुनसुकै पार्टीभित्रका असल, इमानदार कार्यकर्ताले निर्वाचन लड्न गाह्रो हुने अवस्था छ।’

सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति  अन्त्य गर्न ‘संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’ले महत्त्वपूर्ण भूमिका वहन गर्ने विश्वास व्यक्त गरे ।


प्रकाशित: Jul 09, 2022| 15:30 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...