काठमाडौं- संसारभर डाक्टरी पेसालाई भगवानको दोस्रो रूप मान्ने चलन अहिले पनि छ। डाक्टरी पढाइ महँगो हुँदा नेपालमा भने भुइँतहका लाखौं नागरिक स्वास्थ्योपचार अभावमा ज्यान गुमाइरहेका छन्।
सरकारले सञ्चालन गरिरहेका स्वास्थ्य प्रतिष्ठानमा नाम निकाल्न सके केही सस्तोमा मेडिकल अध्ययन सुविधा भने छ। निजी क्षेत्रका मेडिकलबाट डाक्टर अध्ययन गर्न नेपालमा विपन्न वर्गका विद्यार्थीका लागि सपनाजस्तै हो।
पुग नपुग करोडको बिटो खर्च गर्नुपर्ने सरकारले नै शुल्क तोकिदिएको छ। निजी मेडिकलबाट डाक्टरी अध्ययन गरेकाहरू पढाइ पूरा गरेपछि आफ्नो पेसामा लाग्छन्। पढ्दाको खर्च असुलउपर गर्दा नेपालीका लागि स्वास्थ्य सेवा महँगो हुँदै गएको छ।
नेपालमा हाल ३० हजार बढी डाक्टर उत्पादन भएका छन्। यो तथ्यांक नियामक निकाय नेपाल मेडिकल काउन्सिलको हो। यो तथ्यांक काउन्सिलमा दर्ता भएका र दर्ता नभएका डाक्टरको तथ्यांक हो।
यो त भयो नेपालको स्वास्थ्योपचार सेवा। छिमेकको भारततिर लागौं।
भारतमा नागरिकका लागि स्वास्थ्योपचार सेवा केही सस्तो छ। मेडिकल कलेज छानीछानी अध्ययन गर्न पाउने सुविधा प्रशस्त छन्। भारतमा उत्पादित मेडिकल जनशक्ति आफ्नो देशभित्र मात्रै नभएर संसारभर चिकित्सा पेसामा आबद्ध छ। २ जुलाईमा संसारभर डाक्टर डे विभिन्न कार्यक्रम गरी मनाइयो।
भारतमा मनाइएको डाक्टर डेमा भने २० भारु शुल्क लिएर बिरामीको उपचार गर्दै आएका भारतको मध्यप्रदेशको जबलपुरका डा.क्याप्टेन एमसी डाबरलाई सम्झिएको छ। डा. डाबरले १९७१ मा भएको भारत–पाकिस्तान युद्धमा घाइते हुने भारतीय सेनाको उपचार गरेका थिए।
७६ वर्ष टेकेका डा. डाबरले पछिल्लो ५० वर्षयता २० भारु लिएर बिरामीको उपचार गर्दै आएका छन्। भारतीय सेनामा आबद्ध डा. डाबरले १९७१ को भारत–पाकिस्तान युद्धमा घाइतेको उपचार गरेका थिए। डा. डाबरको जन्म भने शत्रु देश पाकिस्तानमा १९४६ मा भएको थियो। डेढ वर्षको उमेरमै आफ्ना बाबुको निधन भयो। डा. डाबरले परिवारको सहयोगमा आफ्नो पढाइ पञ्जाबको जालन्धरमा सुरु गरे।
स्कुले शिक्षा पूरा गरेपछि उनले मध्यप्रदेशको जबलपुरमा रहेको मेडिकल कलेजबाट एमबीबीएस अध्ययन गरे। डाक्टरी अध्ययन सकेलगत्तै उनले आप्नै क्लिनिक खोले। त्यतिबेलैबाट उनले २० भारु शुल्क लिएर नागरिकको उपचार थाले, जुन अहिलेसम्म निरन्तर छ।
५० वर्षदेखि कम शुल्कमा गरिब, विपन्न बिरामीको उपचार गर्दै आएका डा. डाबरको समाज सेवालाई भारतमा मात्र नभई विश्वभर चर्चाको शिखरमा पुर्याएको छ।
सुरुमा आफ्नो चिकित्सा पेसालाई कुनै मेडिकल कलेजमा लगाउने विचारमा रहेका डा. डाबरलाई परिवारले सरकारी जागिर खान दबाब दियो। उनले सैनिक पेसामा जाने निर्णय गरे। त्यसपछि भारतीय सेनाले खुलाएको ५३३ डाक्टरी पदमध्ये २३ जना मात्र परीक्षामा सफल भए।
यो परीक्षामा डा. डाबरले ९औं नम्बरमा नाम निकाल्न सफल भए। त्यसपछि सुरु भयो, उनको सैनिक सेवामा डाक्टरी पेसा। १९७१ को भारत–पाकिस्तान युद्धमा उनको पोस्टिङ बंगलादेशमा भयो।
युद्धमा संलग्न हजारौं सैनिकको उपचारमा उनी खटिए। सैनिकको जागिरलाई भने डा. डाबरले लामो समयसम्म निरन्तरता दिन सकेनन्। कारण थियो, युद्ध सकिनासाथ उनी आफैंमा स्वास्थ्य समस्या देखियो। त्यसपछि उनले सैनिक पेसाबाट अवकाश लिए।
सैनिक जागिरबाट अवकाश लिएपछि डा. डाबरले १९७२ मा जबलपुरमै स्वास्थ्य सेवा दिन थाले। सुरुमा जबलपुरमा मेडिकल प्राक्टिसको समय डा. डाबरले २ भारु शुल्क लिएर बिरामीको उपचार गरेका थिए।
बिरामीलाई भारु २ शुल्कदेखि लाखौंको सहयोग
१० नोभेम्बर १९७२ मा डा. डाबरले जबलपुरमा पहिलो बिरामीको जाँच २ भारु लिएर सुरु गरे। भारु २ शुल्कमा उनले बिरामीको उपचार १९९७ सम्म गरे। १९९७ पछि भने आफ्नो शुल्कलाई बढाएर ५ भारु पुर्याए। आर्थिक समस्या र डाक्टरी पेसालाई निरन्तरता दिन उनले १५ वर्षपछि २०१२ मा बिरामीको जाँच शुल्कलाई १० भारु बनाए। पछिल्लो वर्ष बिरामीको जाँच शुल्क २० भारु पुर्याए।
डा. डाबरले यति कम शुल्कमा कसरी बिरामीको उपचार गरिरहेका होलान्, जोकसैलाई जिज्ञासा उठ्न सक्छ। यसलाई उनी सादा जीवन उच्च विचारको दर्शन ठान्छन्। अचम्म के भने सेनाबाट अवकाश लिएपछि उनले १९७२ मा खोलेको क्लिनिकका लागि खरिद गरेका टेबुल, कुर्सी, शय्या अहिले पनि प्रयोग गरिरहेका छन्।
बिरामीको उपचारलाई प्राथमिकतामा राख्ने डा. डाबर पैसालाई खासै महत्त्व दिन्नन्। बिरामी जाँच्दा लिएको शुल्कबाटै उनले आफ्ना छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययन गराए।
यिनै डा. डाबरले गरिब, विपन्नको उपचारमा निरन्तर गरिरहेको सेवालाई कदर गर्दै भारत सरकारले विभिन्न पुरस्कार, पदकबाट समेत सम्मानित गरेको छ।
५० वर्षदेखि कम शुल्कमा उपचार गर्दै आएका डा. डाबरले साताको ६ दिन डेढ सयदेखि २०० सम्म बिरामीको उपचार गरिरहेका छन्।
आफू बिरामी परे पनि क्लिनिकमा उपचारका लागि आउने बिरामीको स्वास्थ्यलाभका लागि कामना गरिरहन्छन्, डा. डाबर। कोही बिरामी यस्ता छन्, जो आफ्नो स्वास्थ्यमा समस्या आउनेबित्तिकै उनको क्लिनिकमा पुग्छन् र उपचार गराउँछन्।
डा.डाबरलाई भगवान् ठान्छन्, लाखौं, हजारौं वर्ष बच्न आशीष दिन्छन्। उनको क्लिनिकमा जबलपुरका मात्र नभई सयौं, हजारौं किलोमिटर टाढा–टाढाका गाउँका नागरिक र सहरबाट समेत उपचारार्थ आउने बिरामीको संख्या ठूलो हुने गरेको छ।
कम शुल्कमा बिरामीको उपचार गर्दागर्दै उनलाई पुज्नेको संख्या लाखौं पुगेको छ। डा. डाबर भन्छन्,‘१९८६ मा मेरो किड्नी फेल भयो।
त्यसपछि क्लिनिकमा उपचार गर्न आउने बिरामी मेरो स्वास्थ्यलाभका लागि शारदादेवी मन्दिरदेखि पञ्जाबको गुरुद्वारासम्म दीर्घजीवनको कामनाका लागि प्रार्थना गर्नसमेत गए। मेरो लक्ष्य बिरामीलाई सकेसम्म निको पार्ने हुन्छ। यसमा सफलता पनि पाउँदै गएको छु।’
बिरामीले दिएकी थिइन् पद्मभूषण सम्मानको खबर
डा.डाबर २०१९ मा भारत सरकारले प्रदान गर्ने प्रतिष्ठित सम्मानका लागि दर्ज भए। यो कुराको जानकारी भने उनले आफ्नो क्लिनिकमा उपचारार्थ आउने पुरानो बिरामी ओपी खरेले उनलाई सुनाएकी थिइन्। सर्वे अफ इन्डियाबाट सेवानिवृत्त डा. डाबर ७७ वर्ष पुगेका छन्। उनले हालसम्म कम शुल्क लिएर लाखौं बिरामीको ज्यान बचाएका छन्।
५० वर्षदेखि कम शुल्कमा बिरामीको उपचार गर्दै आएका उनी बाँचुन्जेल यो पेसालाई जारी राख्ने बताउँछन्। समाज सेवालाई आदर्श मान्ने डा. डाबरको चिकित्सा पेसाप्रतिको लगावलाई लिएर संसारभर चर्चा चुलिएको छ। -दैनिक भास्करबाट