आइतबार, असार ७, २०८३

'किसानले मल र जनताले नागरिकता कहिले पाउँछन्?'

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

National life

समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन्। मल नपाउँदा कृषि उत्पादन घट्ने भन्दै किसानहरु चिन्तित छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरुले तत्काल नागरिकता विधेयक ल्याएर गैरनागरिक बनेको नेपालीलाई नागरिकता दिलाउन सरकारसँग आग्रह गरे। उनीहरुले नागरिकता विधेयक ल्याउँदा मुलुकको भौगोलिक संवेदनशीलतालाई पनि ख्याल राख्न सरकारको ध्यानाकर्षण गराए।

सांसद डिला सङ्ग्रौला पन्तले देशभर रोपाइँ चलिरहेको भए पनि किसानले मल नपाएको उल्लेख गर्दै  किसानले मल कहिले पाउँछन् भनी प्रश्न गरिन्। सांसद दलबहादुर रानाले तानसेन–बुटवल सडकमा प्रत्येक वर्ष ठूलो धनजनको क्षति हुने गरेको भन्दै उक्त सडक सुधार गर्न माग गरे।

सांसद दिलकुमारीले जनताको छोराछोरीले अझै नागरिकता पाउन नसकेको भन्दै नागरिकता विधेयक कहिले संसद्मा पेश हुन्छ भनी प्रश्न गरिन्। सांसद दुर्गा पौडेलले ग्रामीण क्षेत्रका सडकको दूरावस्था सुधार गर्न माग गरिन्। सांसद देवप्रसाद गुरुङले एसपिपी सम्झौता नगर्ने सरकार निर्णयबारे परराष्ट्र मन्त्रालयले गरेको पत्राचारका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए। उनले नेपाल आइपिएसको सदस्य बन्न नसक्ने भन्ने निर्णय र एमसिसी सम्झौतासँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार गरे–नगरेका बारे जानकारी गराउन माग गरे।

सांसद  देवप्रसाद तिमिल्सिनाले किसानलाई मलको व्यवस्था गर्न सरकारकालाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए। सांसद देवेन्द्रराज कँडेलले कोरोना सङ्क्रमितले बीमाबापतको रकम नपाएको र बीमाको रकम भुक्तानी नदिने बीमा कम्पनीलाई कारबाही गर्न माग गरे। सांसद नवराज सिलवालले गैरनागरिकलाई नागरिकता दिने गरी विधेयक ल्याउन नहुने बताए। उनले भने, ‘नेपाली नागरिकले नागरिकता नपाएको भए उहाँहरुलाई तत्काल नागरिकता दिनुपर्छ। हाम्रो छिमेकमा धेरै जनसङ्ख्या भएका मुलुक छन्, गैर नेपालीले नागरिकता नपाउनेतर्फ सरकार सचेत हुनुपर्छ।’

Shivam cement

सांसद निरुदेवी पालले किसानले मल, नागरिकले नागरिकता र विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद पद्मकुमारी अर्यालले जनसरोकारका विषय सम्बोधन गर्न सरकारले ध्यान नदिएको बताइन्।

सांसद पुष्पा भुसाल गौतमले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले विप्रेषणको सदुपयोग गरी मुलुकलाई आर्थिक समृद्धिमा लैजान साझा संकल्प पारित गर्न आग्रह गरिन्।

सांसद पोल्देन छोपाङ गुरुङले लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भइरहेको भन्दै तत्काल सडक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद प्रेम सुवावले नगरकोट–दुवाकोट सडक तत्काल निर्माण सम्पन्न गरी पर्यटकीय क्षेत्रमा हुने आवातजावतलाई सहज बनाउन माग गरे।

प्रकाशित: Jul 07, 2022| 16:26 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...