काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘आर्थिक शुसासन र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उम्मेदवारहरुले खर्च गर्ने गरेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन्।
‘पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुन्छ। त्यसले हाम्रो व्यावस्थामै प्रश्न उठेको र यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको छ,’ उनले भने, ‘निर्वाचन कानुन र आचारसंहिता धेरै छन्। कतिपय रूपमा आयोग सक्रिय देखिए पनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन। अब संघको निर्वाचनमा उम्मेदवारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यावस्था छ। अहिले त्यो खर्चमा एका दुईले निर्वाचन लडेका होलान् नत्र धेरै ठाउँमा यो सीमाभित्र कसैले चुनाव लडेका छैनन्। यतिमात्र होइन, निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ। यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन्।’
कार्यक्रममा निर्वाचन आयोगका पूर्व प्रमुख भोजराज पोखरेलले पछिल्लो समय आयोगले तोकेको खर्च सीमा हास्यास्पद भएको बताए। उनले भने, ‘अहिलेको निर्वाचन निकै खर्चिलो हुँदै गयो। उम्मेदवारको खर्च तीव्र गतिमा बढेको छ। आयोगको एउटा मापदण्ड छ, उम्मेदवारको खर्च अर्कातिर छ। कि त आयोगले उम्मेदवारको खर्च नियन्त्रण गर्न सक्नुपर्यो कि यो खर्च सीमा हटाउनुपर्यो। नत्र त यो हास्यास्पद मात्र भयो।’