काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि विद्युतीय भोटिङ मेसिनका लागि बजेट माग गरेको छ। आयोगका प्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भेट गरी विद्युतीय मेसिनबाट मतदान गर्ने भए चुनावको मिति घोषणा हुनुअघि नै बजेट निकासा गर्नुपर्ने माग गरेको हो।
आयोगले प्रधानमन्त्री देउवालाई बुझाएको पत्रमा भनिएको छ, ‘निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचन सम्बन्धि कानुनमा भएको व्यवस्था समेतको आधारमा विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृहमन्त्रालय मार्फत् नेपाल सरकार मन्त्रीपरिषद्मा पठाइएको।’
पहिलो संविधान सभा निर्वाचन २०६४ र दोस्रो संविधान सभा पछि २०७१ को उपनिर्वाचनमा केही जिल्लामा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको आयोगको भनाई छ।
‘विवरणको व्यवस्थापन लगायतका कार्यमा तत्काल लगानी गर्नुपर्ने भएको र उक्त कार्य सम्पन्न नभई प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन गर्न व्यवस्थापकीय दृष्टिले कठिन हुने हुँदा सोको निम्ति आवश्यक बजेट निर्वाचनको मिति तोकिनु अगावै अनिवार्यरुपमा निकासा वा बजेटको सुनिश्चित गरी कार्य प्रारम्भ गर्नुपर्ने’ आयोगले सरकारसँग माग गरेको छ।