काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थमन्त्रीकै हैसियतमा संसद्मा सम्बोधन गर्न उपस्थित भएको बताएका छन्। नेकपा एमालेले अथर्मन्त्रीको हैसियतमा शर्माले सम्बोधन गर्न नपाउने अडान राखेपछि उनले आफू अर्थमन्त्रीकै हैसियतमा उपस्थित भएको बताएका हुन्।
‘अर्थमन्त्रीकै हैसियतले बोल्न चाहन्छु। संसद् दुईपटक विघटन भयो। हामीले यो बीचमा उतारचढाव भोग्यौं। गम्भीर प्रकृतिका कामहरु भए। मैले संसद्मा आएर के कारणले बोल्न नपाउने? मैले कोरोनामा छटपटिएका जनताविरुद्धमा काम गरेै कि? मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ? के कारणले अनैतिक भएँ?’
अर्थमन्त्रीले बोल्न थालेपछि एमालेका सांसदहरु बाहिरिएका छन्।
अर्थमन्त्रीअघि बोलेका एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीका हैसियतले शर्माले संसदमा सम्बोधन गर्न नमिल्ने बताएका थिए। जसका विरुद्ध छानबिनका लागि संसदीय समिति बनेको छ, उसैले मन्त्रीको हैसियतमा संसदमा सम्बोधन गर्न नपाइने भट्टराईको भनाइ थियो।