काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ। अर्थमन्त्रीको राजीनामा आफूहरूको बटमलाइन भएको भन्दै एमाले बैठक बहिष्कार गरेको हो।
बहिष्कारअघि बोलेका नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीको रुपमा जनार्दन शर्माले संसदको रोस्ट्रममा बोल्ने नैतिक अधिकार गुमाइसकेको आरोप लगाएका थिए।
‘पदमा राखेर छानबिन हुन सक्दैन, सूचना अझै गायब हुन्छ। उहाँले पूर्वअर्थमन्त्रीको रुपमा बयान दिनुपर्छ,' उनले भनेका थिए।
सांसद भट्टराईले अर्थमन्त्रीको राजीनामा एमालेको बटमलाइन भएको बताए। उनले सीसीटीभी फुटेज मेटाउने र सूचना बेपत्ता पार्ने मानिसहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
‘अर्थमन्त्रीको नियत खराब छ भन्ने कुरा प्रष्ट देखिन्छ। उहाँले यसमा अपराध गर्नुभएको छ भन्ने कुरा प्रष्ट देखिन्छ। त्यसकारणले उहाँमाथि नै छानबिन गर्नका लागि सर्वदलीय संसदीय छानबिन समिति हामीले भनेका छौँ नम्बर एक। नम्बर दुई हाम्रो बटमलाइन अब अर्थमन्त्री पदमा रहन मिल्दैन। कि त राजीनामा गर्नुपर्छ कि त प्रधानमन्त्रीले उहाँलाई बर्खास्त गर्नुपर्छ,' उनले भने, 'नम्बर तीन, सिसिटिभि फुटेज मेटाउने, सूचना बेपत्ता गर्ने जति पनि मानिस छन् तिनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। सार्वजनिक पदमा बसेको मानिसले गम्भीर अपराध गरिसकेपछि केही कानुन यसमा आकर्षित हुन्छन्। नेपालको मुलुकी अपराधसंहिता यसमा आकर्षित हुन्छ। साइबर कानुन यसमा आकर्षित हुन्छ।’
एमालेले बहिष्कार गरेको सभाको बैठकमा अर्थमन्त्री शर्माले भने आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको दाबी गरेका छन्। मन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्य रहेको संसदीय छानबिन समिति गठन भएको छ। समितिलाई आफूले स्वागत गर्ने मन्त्री शर्माले बताएका थिए।