काठमाडौं– नेकपा एमालेले अर्थमन्त्रीको रुपमा जनार्दन शर्माले रोस्ट्रममा बोल्ने नैतिक अधिकार नभएको बताएको छ।
प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै सभामुखसँग समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा दिएपछि मात्र संसद् बैठकमा बोल्न पाउने बताए।
‘पदमा राखेर छानबिन हुन सक्दैन, सूचना अझै गायब हुन्छ। उहाँले पूर्व अर्थमन्त्रीको रुपमा बयान दिनुपर्छ,' उनले भने।
सांसद भट्टराईले अर्थमन्त्रीको राजीनामा एमालेको बटमलाइन भएको बताए। उनले सिसिटिभि फुटेज मेटाउने र सूचना बेपत्ता पार्ने मानिसहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
उनले भने, ‘अर्थमन्त्रीको नियत खराब छ भन्ने कुरा प्रष्ट देखिन्छ। उहाँले यसमा अपराध गर्नुभएको छ भन्ने कुरा प्रष्ट देखिन्छ। त्यसकारणले उहाँमाथि नै छानबिन गर्नका लागि सर्वदलीय संसदीय छानबिन समिति हामीले भनेका छौँ नम्बर एक। नम्बर दुई हाम्रो बटमलाइन अब अर्थमन्त्री पदमा रहन मिल्दैन। कि त राजीनामा गर्नुपर्छ कि त प्रधानमन्त्रीले उहाँलाई बर्खास्त गर्नुपर्छ। नम्बर तीन, सिसिटिभि फुटेज मेटाउने, सूचना बेपत्ता गर्ने जति पनि मानिस छन् तिनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। सार्वजनिक पदमा बसेको मानिसले गम्भीर अपराध गरिसकेपछि केही कानुन यसमा आकर्षित हुन्छन्। नेपालको मुलुकी अपराधसंहिता यसमा आकर्षित हुन्छ। साइबर कानुन यसमा आकर्षित हुन्छ।’