काठमाडौं- संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ। संघीय संसद राष्ट्रियसभा अन्तरगतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयतासम्बन्धी आफैंले तय गरेको रोडम्याप अनुसार सरकार नहिँडेको भन्दै असन्तुष्टि समेत जनाएको हो।
२०७५ साल मंसीर २४ गते आफैंले बनाएको संघीयतासम्बन्धी २९ बुँदे रोडम्याप कार्यान्वयनमा सरकार र सरकारका मन्त्रीहरु जिम्मेवार नभएको पाइएको समितिका संयोजक खिमलाल देवकोटाले बताए। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको अन्तरप्रदेश परिषद बैठकले निर्णय गरेको सो संघीयता सम्बन्धी रोडम्याप समितिले पटकपटक निर्देशन दिँदा पनि कार्यान्वयनमा नल्याएको भन्दै सरकारलाई प्रश्न गरेका थिए।
समितिले सरकारका मन्त्रीहरु नै संघीयताको कार्यान्वयन गर्न जिम्मेवार नभएको उल्लेख गर्दै संविधान र कानुनले किटान गरेको व्यवस्थाप्रति जिम्मेवार हुन पनि सचेत गराएको छ।
‘संघीयताको सम्बन्धमा २०७५ साल मंसिर २४ गते अन्तर प्रदेश परिषद बैठकले २९ बूँदे रोडम्याप बनायो। त्यो प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ। त्यसमा सात वटै प्रदेशका मुख्यमन्त्री, संघको अर्थमन्त्री र गृहमन्त्री सदस्य हुन्छन्। त्यो २०७५ सालको फागुन मसान्त भित्रमा निजामती कानुनलाई अन्तिम रूप दिने बैठकको निर्णय थियो,' देवकोटाले भने, 'सोही सालको चैत्र मसान्तसम्म स्थानीय तहको निजामती सम्बन्धि स्थानीय सेवा व्यवस्थापनको कानुन बनाउने भनेर सोही बैठकले निर्णय गरेको छ। मन्त्रीहरु यस सम्बन्धमा जवाफदेही हुनुपर्ने हो। सचिवहरुले पनि यसमा बेवास्ता गरेको देखियो।'
समितिले अन्तर सरकारी वित्त परिषदको बैठक समेत नबसेर सरकारले संघ, प्रदेश र स्थानीय तहको वित्तिय व्यवस्थापनका विषयमा आवश्यक व्यवस्था गर्न नसकेको, स्थानीय तहमा निजामती कर्मचारीको सेवा व्यवस्थापनको कामलाई अघि बढाउन नचाहेको, संघ, प्रदेश र स्थानीय तहमा संविधान र कानुन विपरित जथाभावी बजेट विनियोजन गरेको भन्दै तत्काल त्यसलाई सच्याउन पनि सरकारलाई भनेको छ। ‘जथाभावी बजेटिङ गर्ने, जथाभावी कर्मचारी परिचालन गर्ने, सिंगो गाविसलाई वडा बनाउने तर त्यहाँ सचिवको व्यवस्था नगर्ने । हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई त्यसबारे तत्काल व्यवस्था गर्न निर्देशन दियौं तर आजसम्म पनि त्यो कार्यान्वयन हुन सकेको छैन,’ देवकोटाले भने।
समितिका संयोजक देवकोटाले स्थानीय तहको वडाहरुमा सचिवको व्यवस्था अझै गर्न नसकेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयप्रति आक्रोश समेत व्यक्त गरे।