हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले जग्गाको कित्ताकाटमा रोक लगाउने भएको छ। सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रको जग्गाको कित्ता काटमा रोक लगाउने निर्णय गरेको हो।
उपमहानगरपालिका क्षेत्रको खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कित्ता काटमा रोक लगाउने निर्णय गरेको छ। हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले उपमहानगरपालिकाले जग्गाको वर्गीकरणपछि मात्र कित्ता काट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको बताए।
त्यस्तै उपमहानगरपालिकाले जग्गाको वर्गीकरणको लागि कार्यदल समेत गठन गरेको छ। कार्यपालिका बैठकले उपमहानगरपालिकाकी सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको संयोजकत्व जग्गा वर्गीकरण कार्यदल गठन गर्ने निर्णय गरेको हो।
कार्यदलको अध्ययन प्रतिवेदन प्राप्त भएपछि नगर प्रमुखको अध्यक्षतामा रहने भूउपयोग परिषदमा छलफल गरी कार्यपालिकाबाट निर्णय भएपछि लागू गरिने प्रवक्ता न्यौपानेले बताए। त्यसपछि मात्र हाल रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्य सञ्चालन हुने उनको भनाई छ।