काठमाडौं– आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गरेको भनेर तीव्र आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि षड्यन्त्र भइरहेको तर्क गरेका छन्।
गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री बनेका शर्माले पार्टीको बैठकमा यस्तो तर्क गरेका हुन्। माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको स्थायी कमिटीका पूर्व सदस्यहरुको बैठकमा उनले आफूले अहिलेसम्मकै राम्रो बजेट ल्याएको दाबी गर्दै आफूमाथि षड्यन्त्र भइरहेको बताएका थिए।
सडकदेखि सदनसम्मै अर्थमन्त्री शर्माको चर्को आलोचना भएपछि पार्टी बैठकमा यो विषयले प्रवेश पाएको हो। बैठकमा बोल्ने नेताहरुले अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने बताएका थिए। ‘मैले अहिलेसम्मकै राम्रो बजेट ल्याएको छु। देशर र जनताको हितलाई ध्यानमा राखेको छु। पार्टीको लाइनभन्दा दायाँबायाँ गएको छैन। मविरुद्ध षड्यन्त्र भइरहेको छ,’ बैठकमा अर्थमन्त्रीको भनाइ उदृत गर्दै एक नेताले भने।
उता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने भएपछि बैठक सारिएको छ। बिहान ११ बजेका लागि डाकिएको प्रतिनिसभाको बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको हो। बैठक स्थगित गरेर सभामुख तथा माओवादी र एमालेका नेताहरु छलफलमा जुटेका छन्।