विराटनगर- नेकपा एमालेबाट हिमादेवी बस्नेत (भट्टराई) प्रदेश १ को सांसद बनेकी छन्। सरकारले नयाँ निर्वाचनको मिति तोक्ने तयारी गरिरहेका बेला उनी भने २०७४ मा नै निर्वाचित भएका प्रदेशसभा सदस्य समान अवधिका लागि सांसद नियुक्त भएकी हुन्। निर्वाचन आयोगले मंसिर २ गते प्रदेश सभाको चुनाव गर्न प्रस्ताव गरिसकेको छ।
मंगलबार उनले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सभामुख प्रदीपकुमार भण्डारीले उनलाई शपथग्रहण गराएका हुन्।
सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएकी गुलेफुन खातुनले एक साताअघि सांसद पदबाट राजीनामा दिएकी थिइन्। उनको राजीनामा स्वीकृत भएसँगै रिक्त स्थानमा हिमादेवी सांसद बनेकी हुन्।
निर्वाचन आयोगले उनलाई समानुपातिक सांसद निर्वाचित भएको पत्र सोमबार पठाएको थियो। उता पदमुक्त भएकी गुलेफुनले १ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ। अदालतले उनलाई १ वर्ष कैद र १४ हजार ५ सय रूपैयाँ जरिवानाको फैसला गरेको थियो।