काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री जनार्दन शर्माको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्य बुझेर एक्सन लिने बताएका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग प्रवक्ता महतले कुनै पनि विषयको निकास हुने भएकोले यसबारे पनि तथ्य बुझेर निकास पाउने उनले बताए।
भने, 'सबै कुरा बोलेर समाधान हुन्छन् भन्ने मान्यता पनि राख्नुहुँदैन। कतिपय कुरा नेताहरूबीचको छलफल गरेर टुंग्याउनुपर्ने विषय पनि हुन्छन्। अहिले सीसीटीभी फुटेजको कुरा आइरहेको छ, त्यो के विषय हो? विस्तारै बाहिर आउँला। विस्तारै यो विषयले पनि निकास पाउँछ।’
बजेट निर्माणमा बिचौलियालाई सहभागी गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने माग आइरहेका बेला प्रवक्ता महतले अर्थमन्त्रीका विषयहरुमा प्रधानमन्त्रीले निगरानी गरिरहेको पनि बताएका छन्।
उनले भने, ‘हाम्रो पार्टीमा अहिले त्यसबारे छलफल भएको छैन। तर, सरकारमा जुनसुकै दलका मन्त्री किन नहुन्? सम्बन्धित मन्त्रालयको जुन जिम्मेवारी छ, त्यहाँ कसरी काम गर्ने भन्ने कानुनको परिधि छ, त्यो परिधिभित्र रहेर काम गर्नुपर्छ । कसैले त्यो कानुनी घेरा नाघेको छ भने त्यसको सत्य तथ्य बाहिर आउनुपर्छ, प्रधानमन्त्रीजीले पनि त्यो विषयलाई निगरानी गरिरहनुभएको छ।’
यसअघि कांग्रेस महामन्त्री गगनकुमार थापाले भने अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका थिए। उनले भनेका थिए, 'अर्थमन्त्री विवादमा तानिएपछि उनले तत्काल राजीनामा दिनुपर्छ। राजीनामा नदिए प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्छ।'
अर्थमन्त्री शर्माले यसअघि बजेट प्रस्तुत गर्नुभन्दा केही घण्टाअघि अनधिकृत व्यक्ति प्रयोग गरेर करका दरहरु हेरफेर गरेको आरोप लागेको छ। उनले सीसीटिभी फुटेजहरु पनि गायब पारेको भन्दै चर्को आलोचनासमेत भइरहेको छ।