काठमाडौं– नेकपा माओवादी केन्द्रमा निर्वाचनबिनै पदाधिकारी स्थायी र पोलिटब्युरो चयन गर्ने सहमति जुटेको छ। माओवादीभित्र पदाधिकारीका आकांक्षी धेरै भएसँगै निर्वाचनमा जानुपर्ने केही नेताहरूको माग रहे पनि सहमतिमै पद बाँडफाँटको टुंगो लागेको हो।
मंगलबार नेकपा माओवादी अध्यक्ष पुष्पकमल निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकले निर्वाचन नगरी सहमतीय आधारमा नाम चयन गर्ने समझदारी बनाएको छ।
बिहान ९ देखि पौने १ बजेसम्म बसेको बैठकमा पदाधिकारी चयनका लागि चुनाव नगर्ने समझदारी भएको एक नेताले बताए। ‘आज बिहानदेखि बसेको बैठकमा पदाधिकारी चयनकै विषयमा केन्द्रित भएर छलफल भयो,’ ती नेताले भने, ‘पदाधिकारी चयनका लागि निर्वाचनमा जान दिनुहुन्न भन्ने अध्यक्षको कुरामा सबै सहमति भए।’
अध्यक्ष दाहालले सुरुमा पदाधिकारीदेखि स्थायी र पोलिटब्युरो चयनका विषयमा धारणा मागेका थिए। त्यसपछि कार्यालयका सदस्यहरूले सुझावसहित आफ्नो दाबी पेस गरेका थिए। ‘बुधबार पदाधिकारी चयन गर्न केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले नाम प्रस्ताव गर्ने बताइएको छ।