आइतबार, असार ७, २०८३

माओवादी बैठकमा नेतृत्वको खुलेर आलोचना, के जवाफ देलान् प्रचण्डले?

लामो समयपछि बसेको बैठकमा केन्द्रीय सदस्यहरुले खुल्ला रूपमा छलफलमा भाग लिएका छन् भने नेतृत्वको तथ्यसहितको आलोचना गरेका छन्।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं- सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अस्ति आइतबारदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसिरहेको छ। तेस्रो दिनको बैठक आज मंगलबार बिहान ११ बजे सुरु हुने तय भएको छ।

National life

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पेश गरेको प्रतिवेदनमा छलफलका क्रममा उठेको प्रश्न र सुझावको बारेमा जवाफ दिने कार्यक्रम छ। प्रचण्डले पहिलो दिनको बैठकमा १० पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

जारी बैठकका लागि अध्यक्ष प्रचण्डले ९ वटा एजेन्डा पेश गरेका थिए। बैठक अहिले प्रदेशगत रिपोर्टिङको कार्यसूचीमा प्रवेश गरेको बताइएकाृ छ। पहिलो दिन आइतबार बागमती प्रदेश र उपत्यका विशेष कमिटीले सांगठानिक तथा समसामयिक विषयमा रिपोर्टिङ गरेका थिए।

गत पुसमा महाधिवेशन गरेको माओवादीमा पदाधिकारी चयन अझै हुन सकेको छैन। पदाधिकारी टुंग्याएर जानुपर्ने आवाज बैठकमा चर्कै रुपमा उठेको एक केन्द्रीय सदस्यले बताए।

साथै केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वलाई आसन्‍न निर्वाचनमा गठबन्धनबारे पुनर्विचार गर्न पनि दबाब सिर्जना गरेका छन्। गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा जानुपर्ने बहुमत नेताहरुको भनाइ छ।

Shivam cement

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा माओवादी इमान्दर भए पनि नेपाली कांग्रेसले आफूलाई मात्रै फाइदा हुने गरी गतिविधि गरेको भन्दै आगामी दिनमा विचार पुर्‍याउन नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। उनीहरुले गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा जानुपर्ने, पार्टीको क्रान्तिकारी चरित्रलाई थप स्पष्ट पार्नुपर्ने, आफूले जितेका स्थानीय तहमा उदाहरणीय काम गर्नुपर्ने र जनतालाई नयाँ आधारमा सङ्गठित गर्नुपर्ने केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन्। यस्तै विभिन्न धारामा विभक्त भएको माओवादी आन्दोलनलाई नयाँ आधारमा सङ्गठित गर्नुपर्नेसमेत सुझाव दिएका थिए।

त्यस्तै स्थानीय तहको हालै सम्पन्‍न निर्वाचनमा अन्तर्घात गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने, त्यसो नगरेको खण्डमा पार्टीलाई आगामी दिनमा थप घाटा हुने उनीहरुको भनाइ थियो।

लामो समयपछि बसेको बैठकमा केन्द्रीय सदस्यहरुले खुल्ला रूपमा छलफलमा भाग लिएका छन् भने नेतृत्वको तथ्यसहितको आलोचना गरेका छन्। बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेलगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन्।

अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै नेताहरुले पार्टीको पदाधिकारी चयन तत्काल हुनुपर्ने, सहरी क्षेत्रमा पार्टी किन कमजोर भयो भन्‍ने बारेमा स्पष्ट दृष्टिकोणका साथ विशेष अभियान सञ्चालन गर्नुपर्ने, पार्टी सञ्चालनका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन्।

यस्तै पार्टीको सांगठनिक अवस्थाको सुधारका लागि ७५३ वटै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टी समिति परिचालित हुनुपर्ने, तालमेलभन्दा पनि आफ्नै बलबुतामा उभिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ।

लामो समयपछि बसेको बैठकमा केन्द्रीय सदस्यहरुले खुल्ला रूपमा छलफलमा भाग लिएका छन् भने नेतृत्वको तथ्यसहितको आलोचना गरेका छन्।

छलफलमा भाग लिने केन्द्रीय सदस्यलाई अध्यक्ष प्रचण्डले दुई मिनेटको समय दिएको भए पनि विषयवस्तुको गाम्भीर्यताका आधारमा १५ देखि २० मिनेटसम्म पनि धारणा राखेका थिए। खुल्लारूपमा छलफलमा सहभागी हुन पाएको भन्दै बैठकमा बोल्ने अधिकांशले पार्टी बनाउने सङ्कल्पसमेत गरेका थिए।

केन्द्रीय सदस्य देवीप्रसाद ढकालले निकारागुवाको उदाहरण दिँदै त्यहाँको सान्डानिस्टा पार्टी शान्ति प्रक्रियामा आएपछि तीन पटक निर्वाचन हारे पनि सन् २००६ देखि लगातार विजयी हुँदै आएको र नेपालमा पनि माओवादीको विजय सुनिश्चित रहेको बताए। उनले निर्वाचन हार्दैमा पार्टी नसकिने भन्दै आफ्नो सिद्धान्त र धार छाड्न नहुने बताए।

माओवादीले संविधान निर्माणपछि आमरूपमा जनतालाई प्रभावमा पार्ने गरी अभियान चलाउन नसकेको र पार्टीको छवि एउटाको पछि लागेर सरकारमा जाने बनेको भन्दै त्यसमा ‘ब्रेक थ्रु’ जरुरी रहेको उल्लेख गरे। उनले आफ्नै खुट्टामा उभिन सकेको खण्डमा माओवादीको जीत सम्भव रहेको र नेपाली जनताले पुनः अवसर दिने धारणा राखे।

माओवादीको पुनरोदय सम्भव छ भन्ने विश्वास नेता कार्यकर्ता र आम जनतामा जगाउन सकियो भने हरेक क्षेत्रमा जीत निकाल्न सकिने उनको भनाइ छ। त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेकी पञ्चा सिंहले विद्यार्थी सङ्गठनमा अराजकता देखिएको भन्दै त्यसको नियमनका लागि पार्टी नेतृत्वको ध्यानकर्षण गराइन्।

नेता हरिबोल गजुरेलले पार्टीको पदाधिकारी चयन तत्काल गर्नुपर्ने सुझाव नेतृत्वलाई दिए। उनले अराजकता र गुटबन्दी क्षम्य नहुने भन्दै त्यस्तो क्रियाकलापमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

त्यस्तै बैठकमा नेताहरुले सरकार सञ्चालनलाई प्रभावकारी बनाउनुपर्ने र देशको सर्वाङ्गीण विकास र सुशासनको उदाहरण भनेकै माओवादी हो भन्ने सन्देश दिनुपर्नेमा जोड दिएका छन्। माओवादीले सरकार सञ्चालन गर्न पाएका सरकारहरूमा उदाहरणीय काम गर्नुपर्ने, त्यसका लागि पार्टीले केन्द्रदेखि प्रदेश र स्थानीय तहको सरकार सञ्चालनको प्रस्ट खाका बनाउन एक नीति सम्मेलन गरेर समाजवाद उन्मुख आर्थिक नीति तथा कार्यक्रम तय गर्ने र लागू गर्नुपर्नेमा नेताहरुको भनाइ थियो।

सोमबारको बैठकमा हरिबोल गजुरेल, ओम शर्मा, लक्ष्मण पन्त, पञ्चा सिंह, मुक्ति प्रधान, देवी खड्का, परशुराम तामाङ, रामदीप आचार्य, मातृका यादव, बलावती शर्मा, मानबहादुर बुढा, गणेशमान पुन, झक्कु सुवेदी, सुदन किराती, अमृता थापा, खेलप्रसाद बुढाथोकीसहित ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए।

माओवादीको आइतबारको बैठकमा पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिइएको थियो। बैठकले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो सदस्य मनोनयन गर्ने भनिए पनि केन्द्रीय सदस्यमा अध्यक्ष प्रचण्डले आफ्ना छोरी–ज्वाइँलाई मनोनीत गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ।

प्रचण्डकी कान्छी छोरी गंगा दाहालका श्रीमान् जीवन आचार्य केन्द्रीय सदस्य मनोनीत गरिएका हुन्। आइतबारको बैठकमा माओवादीकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टी अध्यक्ष प्रचण्डलाई परिवारवादबारे लगाइँदै आएको आरोपको औचित्य पुष्टि र प्रस्टीकरण दिन आग्रह गरेकी थिइन्। पार्टी अध्यक्षका छोरी–ज्वाइँ मात्रै भएको आधारमा भटाभट केन्द्रीय सदस्य मनोनीत गरिँदा पार्टी संरचनाको तल्लो स्तरमा फूहरूले विरोध सामना गर्नुपर्ने स्थिति आएको उनले बताइन्।

माओवादीको विधानमा २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ। तीमध्ये १५ प्रतिशत मनोनीत र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ। तर पार्टी विधानमा जेसुकै कोरिए पनि अध्यक्ष प्रचण्डले आफ्नो खल्तीबाट नाम झिकेर केन्द्रीय सदस्य मनोनीत गरेको आइतबार पूर्णता दिइएको केन्द्रीय सदस्यहरूको नामबाट थाहा हुन्छ। केन्द्रीय समितिमा ज्वाइँको मनोनयनबारे पनि आज अध्यक्ष प्रचण्डले जवाफ दिने अपेक्षा गरिएको छ।

प्रकाशित: Jul 05, 2022| 08:33 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...