आइतबार, असार ७, २०८३

आगामी चुनावमा गठबन्धनबारे पुनर्विचार गर्न माओवादीभित्र दबाब

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीमा पार्टी नेतृत्वलाई आसन्‍न निर्वाचनमा गठबन्धनबारे पुनर्विचार गर्न दबाब सिर्जना गरेका छन्। आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय कमिटी बैठकमा गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा जानुपर्ने बहुमत नेताहरुको भनाइ छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं-  नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीमा पार्टी नेतृत्वलाई आसन्‍न निर्वाचनमा गठबन्धनबारे पुनर्विचार गर्न दबाब सिर्जना गरेका छन्। आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय कमिटी बैठकमा गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा जानुपर्ने बहुमत नेताहरुको भनाइ छ। 

National life

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा माओवादी इमान्दर भए पनि नेपाली कांग्रेसले आफूलाई मात्रै फाइदा हुने गरी गतिविधि गरेको भन्दै आगामी दिनमा विचार पुर्‍याउन नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। उनीहरुले गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा जानुपर्ने, पार्टीको क्रान्तिकारी चरित्रलाई थप स्पष्ट पार्नुपर्ने, आफूले जितेका स्थानीय तहमा उदाहरणीय काम गर्नुपर्ने र जनतालाई नयाँ आधारमा सङ्गठित गर्नुपर्ने केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन्। यस्तै विभिन्न धारामा विभक्त भएको माओवादी आन्दोलनलाई नयाँ आधारमा सङ्गठित गर्नुपर्नेसमेत सुझाव दिएका थिए।

त्यस्तै स्थानीय तहको हालै सम्पन्‍न निर्वाचनमा अन्तर्घात गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने, त्यसो नगरेको खण्डमा पार्टीलाई आगामी दिनमा थप घाटा हुने उनीहरुको भनाइ थियो। आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले १० पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यस्तै छलफलका लागि नौ वटा प्रस्तावसमेत पेस भएको छ।

लामो समयपछि बसेको बैठकमा केन्द्रीय सदस्यले खुल्लारूपमा छलफलमा भाग लिएका छन् भने नेतृत्वको तथ्यसहितको आलोचना गरेका छन्। बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेलगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन्।

अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै नेताहरुले पार्टीको पदाधिकारी चयन तत्काल हुनुपर्ने, सहरी क्षेत्रमा पार्टी किन कमजोर भयो भन्‍ने बारेमा स्पष्ट दृष्टिकोणका साथ विशेष अभियान सञ्चालन गर्नुपर्ने, पार्टी सञ्चालनका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन्।

Shivam cement

यस्तै पार्टीको सांगठनिक अवस्थाको सुधारका लागि ७५३ वटै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टी समिति परिचालित हुनुपर्ने, तालमेलभन्दा पनि आफ्नै बलबुतामा उभिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ।

छलफलमा भाग लिने केन्द्रीय सदस्यलाई अध्यक्ष प्रचण्डले दुई मिनेटको समय दिएको भए पनि विषयवस्तुको गाम्भीर्यताका आधारमा १५ देखि २० मिनेटसम्म पनि धारणा राखेका थिए। खुल्लारूपमा छलफलमा सहभागी हुन पाएको भन्दै बैठकमा बोल्ने अधिकांशले पार्टी बनाउने सङ्कल्पसमेत गरेका थिए।

केन्द्रीय सदस्य देवीप्रसाद ढकालले निकारागुवाको उदाहरण दिँदै त्यहाँको सान्डानिस्टा पार्टी शान्ति प्रक्रियामा आएपछि तीन पटक निर्वाचन हारे पनि सन् २००६ देखि लगातार विजयी हुँदै आएको र नेपालमा पनि माओवादीको विजय सुनिश्चित रहेको बताए। उनले निर्वाचन हार्दैमा पार्टी नसकिने भन्दै आफ्नो सिद्धान्त र धार छाड्न नहुने बताए।

माओवादीले संविधान निर्माणपछि आमरूपमा जनतालाई प्रभावमा पार्ने गरी अभियान चलाउन नसकेको र पार्टीको छवि एउटाको पछि लागेर सरकारमा जाने बनेको भन्दै त्यसमा ‘ब्रेक थ्रु’ जरुरी रहेको उल्लेख गरे। उनले आफ्नै खुट्टामा उभिन सकेको खण्डमा माओवादीको जीत सम्भव रहेको र नेपाली जनताले पुनः अवसर दिने धारणा राखे।

माओवादीको पुनरोदय सम्भव छ भन्ने विश्वास नेता कार्यकर्ता र आम जनतामा जगाउन सकियो भने हरेक क्षेत्रमा जीत निकाल्न सकिने उनको भनाइ छ। त्यस्तै अखिल (क्रान्तिकारी)का अध्यक्षसमेत रहनु भएका पञ्चा सिंहले विद्यार्थी सङ्गठनमा अराजकता देखिएको भन्दै त्यसको नियमनका लागि पार्टी नेतृत्वको ध्यानकर्षण गराए।

नेता हरिबोल गजुरेलले पार्टीको पदाधिकारी चयन तत्काल गर्नुपर्ने सुझाव नेतृत्वलाई दिनुभयो। उहाँले अराजकता र गुटबन्दी क्षम्य नहुने भन्दै त्यस्तो क्रियाकलापमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

त्यस्तै बैठकमा नेताहरुले सरकार सञ्चालनलाई प्रभावकारी बनाउनुपर्ने र देशको सर्वाङ्गीण विकास र सुशासनको उदाहरण भनेकै माओवादी हो भन्ने सन्देश दिनुपर्नेमा जोड दिएका छन्। माओवादीले सरकार सञ्चालन गर्न पाएका सरकारहरूमा उदाहरणीय काम गर्नुपर्ने, त्यसका लागि पार्टीले केन्द्रदेखि प्रदेश र स्थानीय तहको सरकार सञ्चालनको प्रस्ट खाका बनाउन एक नीति सम्मेलन गरेर समाजवाद उन्मुख आर्थिक नीति तथा कार्यक्रम तय गर्ने र लागू गर्नुपर्नेमा नेताहरुको भनाइ थियो।

आज बैठकमा नेताहरु गजुरेल, ओम शर्मा, लक्ष्मण पन्त, पञ्चा सिंह, मुक्ति प्रधान, देवी खड्का, परशुराम तामाङ, रामदीप आचार्य, मातृका यादव, बलावती शर्मा, मानबहादुर बुढा, गणेशमान पुन, झक्कु सुवेदी, सुदन किराती, अमृता थापा, खेलप्रसाद बुढाथोकीसहित ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए। 

माओवादीको आइतबारको बैठकमा पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिएको थियो। यद्पि पुसमा महाधिवेशन गरेको माओवादीले अझै पनि पदाधिकारी चयन गर्न सकेको छैन। बैठक फेरि मंगलबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्‍नेछ।

प्रकाशित: Jul 04, 2022| 21:21 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...