काठमाडौं– महाधिवेशन सकिएको ६ महिनासम्म पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो सदस्य मनोनयन गर्न नसकेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारबाट सुरु भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको बैठक दोस्रो दिन सोमबार पनि जारी छ।
बैठकले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो सदस्य मनोनयन गर्ने भनिए पनि केन्द्रीय सदस्यमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्ना छोरी–ज्वाइँलाई मनोनीत गरेपछि पार्टीभित्रै रडाको सुरु भएको छ।
बैठकमा प्रचण्डकी कान्छी छोरी गंगा दाहालका श्रीमान् जीवन आचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरिएपछि माओवादीका नेता–कार्यकर्ताले विरोध गरे तर आफ्ना कुरा बाहिर ल्याउने हिम्मत गरेनन्। कारण थियो, नेकपा माओवादी केन्द्रमा प्रचण्डको आदेशबिना साधारण कार्यकता त के वरिष्ठ नेताहरू पनि बोल्ने हिम्मत गर्दैनन्।
अचम्म के भने आचार्यले न माओवादी आन्दोलनमा लागेर पार्टीका लागि योगदान दिएका थिए, न त उनको कुनै पार्टीप्रति साइनो छ। छोरीको श्रीमान् भएकै आधारमा प्रचण्डले केन्द्रीय सदस्य बनाइछाडे।
यसबाट पनि के बुझिन्छ भने माओवादीभित्र जनयुद्धमा योगदान दिएका नेता, कार्यकर्ताहरू क्रमशः पाखा लगाइँदै छन्। आचार्यले आइतबार नै सुरु भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटी सदस्यको सपथ लिइसकेका छन्।
जनयुद्धको ‘ज’ पनि थाहा नभएका आचार्य प्रचण्डकै ज्वाइँ भएकै आधारमा केन्द्रीय सदस्य हुन सफल भए। सुरुमा कांग्रेस पृष्ठभूमिका आचार्य २०६४ मा प्रचण्डकी छोरी गंगासँग बिहे गरेपछि मात्र माओवादीमा जोडिएका हुन्।
प्रचण्डको आदेशमा चल्ने पार्टीभित्र पदाधिकारी नियुक्तिमा पनि उनकै हैकम चल्दै आएको छ। भलै माओवादीले पार्टी संरचनाको विधान किन नबनाएको होस्। पार्टी विधानलाई बाइपास गरेर अध्यक्ष प्रचण्डले प्रचण्डले गत फागुनमै छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य बनाउन खोजेका थिए। त्यतिबेला पार्टीमा ठूलै विरोधका स्वर सुनिएपछि पछि हटेका थिए।
आइतबारे बैठकमा प्रचण्डले नामै नपढी आफ्ना छोरी–ज्वाइँलाई समेत केन्द्रीय सदस्यको सूचीमा राखिदिए। प्रचण्डका छोरी–ज्वाइँ केन्द्रीय सदस्यमा मनोनीत भएपछि पनि पार्टीका उपल्लो स्तरका नेताहरू तैँ चुप मै छुप छन्। विरोधका स्वर उछाल्नेहरू केन्द्रमा कम पहुँच भएका हुन्।
आइतबारको बैठकमा माओवादीकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टी अध्यक्ष प्रचण्डलाई परिवारवादबारे लगाइँदै आएको आरोपको औचित्य पुष्टि/प्रस्टीकरण दिन आग्रह गरिन्।
पार्टी अध्यक्षका छोरी–ज्वाइँ मात्रै भएको आधारमा भटाभट केन्द्रीय सदस्य मनोनीत गरिँदा पार्टी संरचनाको तल्लो स्तरमा आफूहरूले विरोध सामना गर्नुपर्ने स्थिति आएको उनले बताइन्।
‘रेनु दाहालका पक्षमा हामी जुनसुकै ठाउँमा बहस गर्न सक्छौं किनकि उहाँ जनयुद्धमै रोल्पाको सेक्रेटरीको भूमिकामा हुनुहुन्थ्यो,’ माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘प्रकाश दाहालको निधन नहुँदासम्म गंगा गृहिणी मात्रै हुनुहुन्थ्यो। सचिवालयमा जागिर खानु र पार्टीको केन्द्रीय सदस्य हुनुमा धेरै फरक छ,’ एक केन्द्रीय सदस्यले भने।
माओवादी पार्टीभित्र योगदान दिएका नेता, कार्यकर्ता प्रचण्डलाई खुमलटार निवास भेट्न जाँदासमेत छोरी–ज्वाइँ (गंगा र आचार्य) को अनुमति लिनुपर्ने अवस्था रहेको ती केन्द्रीय सदस्यको गुनासो छ।
आइतबारको बैठकमा प्रचण्डकी कान्छी छोरी गंगाका श्रीमान् आचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरिएपछि माओवादी नेता–कार्यकर्ताको विरोध तर आफ्ना कुरा बाहिर ल्याउने हिम्मत गरेनन्।
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ। पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २४७ केन्द्रीय समिति चयन गरेको थियो।
माओवादीको विधानमा २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ। तीमध्ये १५ प्रतिशत मनोनीत र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ। तर पार्टी विधानमा जेसुकै कोरिए पनि अध्यक्ष प्रचण्डले आफ्नो खल्तीबाट नाम झिकेर केन्द्रीय सदस्य मनोनीत गरेको आइतबार पूर्णता दिइएको केन्द्रीय सदस्यहरूको नामबाट थाहा लाग्छ।
परिवारवादको शृंखला प्रचण्डले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको कोटामा समेत आफ्ना नजिकका भाइ नारायण दाहालको नाम सिफारिस गरेपछि सुरु भएको हो। दाहाल पार्टीमा लामो समदेखि क्रियाशील रहे पनि उनले प्रचण्डकै भाइ भएका कारण अवसर पाएको त्यतिबेला माओवादी नेता, कार्यकर्ताको गुनासो सुनिन्थ्यो।
नेकपा माओवादी निकट अखिल क्रान्तिकारीमा पनि पार्टीको दबदबा कायमै छ। सोही कारण अखिल क्रान्तिकारी दुई खेमामा टुक्रिएको छ। कुनै कमिटीमा आबद्ध नभएकी प्रचण्डकी नातिनी सृष्टि केसीले अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बन्ने अवसर पाएकी छन्।
यस्तै, राजदूत नियुक्ति, सरकारी नियुक्तिमा पनि पार्टी अध्यक्ष प्रचण्डकै वरपर रहनेहरू पर्दै आएका छन्।अखिल क्रान्तिकारीमा भागबन्डामा पदाधिकारी गठन गरिएपछि त्यसको विरोध गरेका उपाध्यक्ष पवन कार्कीलाई घोक्रेठ्याक लगाएर प्रचण्डकी नातिनीलाई केन्द्रीय सदस्य बनाइएको छ। असन्तुष्ट कार्कीले समानान्तर कमिटी गठन गरिसकेका छन्।
स्थानीय तहको चुनाव सकिएपछि पहिलो पटक बसेको माओवादी केन्द्रीय समिति बैठकमै आफ्ना छोरी–ज्वाइँलाई पदीय भागबन्डाको अवसर दिँदा पार्टीभित्रको विधान सोह्रैआना मिचिएको छ।
स्थानीय निर्वाचन हार्नुमा कांग्रेसलाई सत्तोसराप
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनबाट निर्वाचनमा होमिएको नेकपा माओवादीले सोचेभन्दा बढी पालिकामा जित हासिल गरेको थियो। कांग्रेस नेता, कार्यकर्ताको विरोधका बाबजुद भरतपुर महानगरमा दोस्रो पटक प्रचण्डपुत्री रेनु दाहाल मेयर बन्न सफल भइन्। रेनुलाई मेयरमा जिताउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेरै मत मागेका थिए।
तर आइतबारको बैठकलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै पार्टीभित्रको अन्तरघार र कांग्रेसका कारण नेकपा माओवादीका धेरै उम्मेदवार पराजित हुनुपरेको दाबी गर्न भ्याए। स्थानीय तह निर्वाचनमा नेकपा माओवादीले १२६ स्थानमा विजयी भएको थियो।
आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले पाँचदलीय गठबन्धन भए पनि विशेषगरी कांग्रेस इमानदार नहुँदा नतिजा प्रभावित भएको दाबी गरे। उनले नेकपा माओवादी केन्द्रले धेरै अपेक्षा गरे पनि हार बेहोरेपछि गठबन्धन अपेक्षा गरेजस्तो हुन नसकेको प्रतिक्रियासमेत दिए।
माओवादीलाई हराउन गठबन्धनकै दलहरू सक्रिय रूपमा लागेको, माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको गुनासोसमेत उनले पोखे। रुकुम, रोल्पा, कालीकोटजस्ता जिल्लामा अरू दल एकातिर र माओवादी एक्लै निर्वाचन लड्दासमेत सफलता पाएको दाबी प्रचण्डले गरे।
‘हामीले गठबन्धनको धर्म र कर्मअनुसार काम गर्यौं । केन्द्रीय समझदारीअनुसार हामी इमानदार रूपमा निर्वाचनमा होमियौं’, प्रचण्डले भने, ‘कांग्रेसलगायतका दल) फाइदा जे हुन्छ, त्यसमै लागे। यसमा कांग्रेसको भूमिका अग्रणी देखियो।’
केन्द्रीय समिति बैठकमा गठबन्धनलाई कसरी अघि लैजाने वा प्रभावकारी बनाउन सकिने-नसकिने विषयमा समेत छलफल हुने उनले बताए। नेकपा माओवादीले १५० देखि १७५ को बीचमा स्थानीय तह निर्वाचनमा नेतृत्व जित्ने अपेक्षा लिए पनि अन्तर्घात र कांग्रेसकै कारण सफल हुन नसकिएको अध्यक्ष प्रचण्डले दाबी गरे।
कमलादीमा आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल भइरहेको छ। प्रचण्डले केन्द्रीय सदस्यहरूलाई खुला छलफलबाट आफ्नो धारणा राख्न २ मिनेटको समय तोकेका छन्।
प्रचण्डको प्रतिवेदनमा घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षालगायत विषय समेटिएका छन्। प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीले लिने रणनीति तथा तयारीबारे पनि चर्चा गरिएको छ।