काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियान पार्टीमा एक-अर्कालाई कारबाही गर्ने होड चलेको छ। पार्टीमा आवद्ध विभिन्न चार दलका नेताहरुको शनिबार बैठकले संयोजक वामदेव गौतमलाई कारबाही गर्दै युवराज सफललाई संयोजक बनाएको थियो। त्यसैगरी आइतबार बामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले शनिबार संयोजक तोकिएका युवराज सफलसहितलाई कारबाही गरेको छ।
त्यसैगरी शनिबार संयोजक तोकिएका सफललाई जिउ ज्यानमा सुरक्षा खतरा भएको भन्दै सुरक्षाकर्मी उपलब्ध गराइ दिन गृहमन्त्रीसमक्ष माग गरेका छन्। सफल नेतृत्वको एक पत्र लेख्दै भनेका छन्, 'तत्कालीन नेकपा एकता अभियानका सचिवालय सदस्य ओम चालिसेले हाम्रा सचिवालय सदस्य कृष्ण गोपाल बञ्झरासँग भेटी तिमीहरु चार जनालाई भौतिक कारबाही गर्छु ,जे पनि गर्छु ,प्रहरी प्रशासन लगाएर जेल हाल्छु भनी धम्की दिएको र अभियानको चार शीर्ष नेता संयोजक युवराज सफल ,सचिवालय सदस्य कृष्ण गोपाल बञ्झरा ,सचिवालय सदस्य मिननाथ देवकोटा र सचिवालय सदस्य निलकण्ठ पौडेल समेतको जिउ ज्यानमा सुरक्षा थ्रेट भएको र जतिसुकै बेला जे पनि हुन्छ भन्ने धम्की दिएको हुँदा सो धम्की दिने ओम चालिसेलाई तत्काल प्रक्राउ गरी आवश्यक कारबाही गर्न तथा उल्लेखित सुरक्षा थ्रेट भएका नेताहरुलाई सुरक्षाको लागि सुरक्षाकर्मीको व्यवस्था गरिदिन यो निवेदन पेश गरेका छौँ।'
उनीहरुले आफूहरुमाथि केही भएमा त्यसको जिम्मेवारी ओम चालिसे र तत्कालीन बामदेव गौतम हुने भनिएको छ। गौतम समूहले आइतबार सचिवालय सदस्य कृष्ण गोपाल बञ्झरा ,सचिवालय सदस्य मिन नाथ देवकोटा र सचिवालय सदस्य निलकण्ठ पौडेललाई नेकपा एकता राष्ट्रिय अभियानबाट निष्काशन गरेका हुन्।
युवराज नेतृत्वको सचिवालयले शनिबार वामदेव गौतममाथि सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको, अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको, जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको, नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधी गरिएको, सम्पूर्ण बामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजनाबमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा भए पनि उनले निर्धारित उद्देश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको आरोप लगाउँदै कारबाही गरिएको हो।