सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेका निर्णय : अन्तर्घातको छानबिन गर्न कार्यदल गठन, विभिन्‍न विभागमा सचिव मनोनित

एमालेका निर्णय : अन्तर्घातको छानबिन गर्न कार्यदल गठन, विभिन्‍न विभागमा सचिव मनोनित

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरको छ। आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं-  नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरको छ। आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलका अन्य सदस्यहरुमा केन्द्रीय निर्वाचन विभागको प्रमुख र केन्द्रीय संगठन विभागको प्रमुख रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनले स्थानीय तह निर्वाचन सम्बन्धी विभिन्‍न उजुरीहरु आएको उल्लेख गर्दै कार्यदलले उजुरीहरुमाथि छानबिन गर्ने र आवश्यक कारबाही गर्ने बताए।

उनले भने, 'निर्वाचनको क्रममा केही अनुशासनहीनता, अराजकता कुराहरु उत्पन्‍न भएको छ। त्यस्तो समस्याहरुमाथि उजुरी परेको छ र उजुरीमाथि छानबिन र आवश्यक कारबाहीका लागि पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभागको प्रमुख र केन्द्रीय संगठन विभागको प्रमुख रहेको तीन सदस्यीय उजुरीमाथि छानबिनको आवश्यक कारबाहीको लागि कार्यदल गठन गरेको छ। चुनावमा भएका विभिन्‍न अराजक कुराहरु, अनुशासनहीनताका कुराहरु, अन्तर्घातको विषयहरु यसले छानबिन गरेर आफ्नो रिपोर्ट पेस गर्नेछ र आवश्यक कारबाही यो आफैँले गर्न सक्नेछ।’

त्यसैगरी एमालेले सातवटै प्रदेशमा वैचारिक तथा राजनीतिक प्रशिक्षण पनि चलाउने निर्णय गरेको छ। प्रशिक्षणको लागि संयोजन गर्ने जिम्मेवारी पार्टीका सात उपाध्यक्षहरुलाई जिम्मेवारी दिएको छ। जसमा प्रदेश १ मा ईश्वर पोखरेल, मधेस प्रदेशमा सुरेन्द्र पाण्डे, वागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवासचन्द्र नेम्वाङ, कर्णाली प्रदेशमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवाली रहेका प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए। 

यस्तै बैठकले विभिन्‍न विभागमा सचिव मनोनयन पनि गरेको छ। गुरुङका अनुसार वित्त तथा कोष व्यवस्थापन विभाग सचिवमा डा. भिष्म अधिकारी, संगठन विभाग सचिवमा सम्झना देवकोटा, उपभोक्ता हीत संरक्षण विभाग सचिवमा भवानी खनाल, श्रम तथा रोजगार विभाग सचिवमा जनक चौधरी, संसदीय विभाग सचिवमा डा. सूर्य पाठक, सामाजिक सेवा विभाग सचिवमा डा. नेत्रप्रसाद तिमल्सिना, संस्कृति विभाग सचिवमा राजेश थापा, स्थानीय तह विकास विभाग सचिवमा हर्क राई, प्रचार तथा प्रकाशन विभाग सचिवमा गगन बिष्ट, परराष्ट्र मामिला विभाग सचिवमा अञ्जान शाक्य, संघीय मामिला तथा सामान्य प्रशासन विभाग सचिवमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्पज्योति ढुंगाना, अर्थ तथा योजना विभाग  सचिवमा योगेन्द्र शाहीर कानून विभाग सचिवमा डिल्लीराम मैनालीलाई मनोनयन गरेको हो। 

उनले बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, वन तथा वातावरण विभाग, अर्थ तथा योजना विभाग गठन गरेको पनि बताए। त्यस्तै उनले वित्त तथा कोष व्यवस्थापन विभाग, कृषि तथा पशुपंक्षी विभाग र निर्वाचन विभागलाई बिस्तार गरिएको पनि बताए। 

बैठकले अनुसन्धान प्रतिष्ठान सञ्चालन कार्यविधिलाई पारित गरेको छ। त्यस्तै, स्थानीय तह विकास विभागको निर्देशिका पनि पारित गरेको छ। असार मसान्तसम्म सबै जिल्ला कमिटी र प्रदेश कमिटीहरुले निर्वाचनको समीक्षा रिपोर्ट तयार गरेर केन्द्रमा पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। त्यसैगरी बैठकले महंगी, मुद्रास्फिर्ति, मूल्यवृद्धि, नीतिगत भ्रष्टाचार, मलको अभावको विरुद्धमा जनपरिचालन गर्ने निर्णय पनि गरेको छ।


प्रकाशित: Jul 03, 2022| 19:29 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...