काठमाडौं- परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाउन बाँकी रहेको बताएकी छन्। परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर सो पत्र नपठाइएको जानकारी दिएकी हुन्।
लम्सालले सरकारको निर्णयबारे अध्ययन भइरहेको र निर्णय गर्नेबित्तिकै पत्र पठाइहाल्नुपर्ने नभएको भन्दै कूटनीतिक माध्यमबाट पत्र पठाइने बताइन्।
‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन। अब हामीलाई नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ,' उनले भनिन्, 'परराष्ट्र मन्त्रालयले काम गर्दाखेरी खरो अध्ययन गरेर मात्रै त्यसको पत्राचार गर्नुपर्ने भएकाले अहिले त्यसलाई अध्ययनकै क्रममा छौं। उपयुक्त समयमा कूटनीतिक माध्यमबाट नेपाल सरकार मन्त्रिपरिषदको सो निर्णयलाई कार्यान्वयन गर्छौं।’
अमेरिकी सेनासँग सहकार्य गर्ने एसपीपीको प्रस्ताव स्वीकार नगर्ने निर्णय मन्त्रिपरिषद् बैठकले असार ६ गते गरेको थियो।