काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा भएको सात दिनमै पार्टीबाट वामदेव गौतम निष्कासित भएका छन्। अभियानमा जोडिएका चार दल हामी समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र आम नेपाली पार्टीले संयोजक गौतम निष्कासित गर्ने निर्णय गरेको छ।
उनीहरुले सचिवालय सदस्य युवराज सफललाई संयोजकमा चयन गरेका छन्। सतुंगलस्थित एक पार्टी प्यालेसमा अभियानमा आवद्ध पार्टीका प्रमुखहरूको बैठकले ११ असारमा निर्माण गरिएको केन्द्रीय समिति भंग गर्ने निर्णय पनि गरेको छ।
गौतममाथि चार राजनीतिक दलहरूलाई सम्मानित व्यवहार नगरिएको, एकलौटी ढंगले अगाडि बढेको लगायत ५ बुँदे आरोप लगाइएको छ।
पाँच आरोप
१. सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको।
२. अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको।
३. जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको।
४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधी गरिएको ।
५. सम्पूर्ण बामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजनाबमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड वामदेव गौतमले सो निर्धारित उद्देश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको।