काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। डा भट्टराईले जसपा विभाजनको तयारी गरिरहेका बेला प्रचण्डसँग भेट भएको हो।
बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ।
प्रचण्डले पूर्वमाओवादीहरू एकैठाउँमा हुनुपर्ने बताउँदै आएका छन्। यद्यपि माओवादीबाट छुट्टिएका नेताहरूले भने प्रचण्डको भनाइलाई खासै महत्त्व दिएका छैनन्। यस्तो बेलामा प्रचण्ड र बाबुरामको भेट उपराष्ट्रपतिले जुराएका हुन्।
उपराष्ट्रपति पुन पनि माओवादीका पूर्वनेता हुन्। बाबुराम माओवादीमा उपाध्यक्ष र सोही दलबाट प्रधानमन्त्री भइसकेका हुन्। यद्यपि उनले कम्युनिस्ट पार्टीबाट अब राजनीति नगर्ने भन्दै नयाँ शक्ति पार्टी बनाएका थिए। उक्त दल पछि संघीय समाजवादी फोरमसँग एकीकरण भएको थियो। फोरमले राजपासँग एकता गरी जसपा बनाएपछि बाबुराम अहिले उक्त पार्टीको संघीय परिषद् अध्यक्ष छन्। अध्यक्ष उपेन्द्र यादवसँग टकराव भएपछि उनी नयाँ पार्टी बनाउने तयारीमा रहेको बताइएको छ।