काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले तत्कालीन नेकपामा तीन वर्ष सँगै रहँदा नेकपा एमालेमा बिउ रोपेर आएकाले केही समयपछि त्यसले फल दिने दाबी गरेका छन्। कोटेश्वरको पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको मुख्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
कार्यक्रममा अध्यक्ष दाहालले एमालेभित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लैजान सकिने अनुभव एउटै पार्टी हुँदा सिकेको दाबी गरे। ‘एमालेभित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लैजान सकिन्छ,’ दाहालले भने, ‘त्यहाँ (एमाले)मा बिउ रोपिएको छ । माओवादीले बिउ रोपेर आएको छ। हेर्दै जानुहोला, केही समयपछि त्यो फुल्छ अनि फल्छ।’
एमालेभित्र केपी ओलीको नेतृत्व नहुने हो भने त्यो पार्टीका हजारौं हजार नेता, कार्यकर्तालाई माओवादीमा ल्याउन सकिने ठोकुवा दाहालले गरे। ‘एमालेभित्र ओली प्रवृत्तिको नेतृत्व हुँदा विद्रोह गर्नुप¥यो,’ उनले भने, ‘त्यो नेतृत्व नहुने हो भने एमालेभित्रका हजारौं नेता, कार्यकर्ताको नेतृत्व माओवादीले नै गर्न सक्छ।’
नेकपा माओवादी केन्द्र मूल माओवाद मान्ने पार्टी भएको दाबी गर्दै अध्यक्ष दाहालले चोइटिएर गएका भाइ माओवादी पार्टीहरूबीच एकता गर्न पहल गरिरहेको बताए।
एमालेमा माओवादीले रोपेको बिउ नक्कलीः घनश्याम
एमाले नेता घनश्याम भुसालले भने एमाले र तत्कालीन माओवादी केन्द्र गाँसिएर नेकपा हुँदा अध्यक्ष रहेका पुष्पकमल दाहालले कित्ताकाटपछि एमाले नेता, कार्यकर्ता आप्mनो पार्टीमा लाइन लागेर प्रवेश गर्ने दाबी झुटो रहेको बताएका छन्। दाहालले एउटै पार्टी हुँदा एमालेमा रोपेको बिउ मक्किइसकेको भुसालको भनाइ छ।
नेता भुसालले राजनीतिलाई धन्दा बनाउने र धन्दा बचाइराख्न गुटबन्दी गर्नेहरूकै कारण कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न नसकिएको बताएका छन्।
कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा नेता भुसालले कम्युनिस्ट आन्दोलनमा देखिएका कमजोरी हटाउन प्रयासरत हुँदै आएको बताए। उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा विभाजन, विवादको परम्परा छ। अझ पछिल्लो समय राजनीतिलाई धन्दा बनाउने र त्यो धन्दा बचाइराख्न कम्युनिस्ट पार्टीमा गुटबन्दी गर्ने डरलाग्दो रोग झाँगिँदै गएको छ।’
छँदाखाँदाको बहुमतको सरकार हुँदासमेत सत्ताकै लागि कम्युनिस्ट पार्टीहरू छिन्नभिन्न भएको उनको दाबी छ। ६०÷७० प्रतिशत कम्युनिस्ट फुटेर आफ्नै घरमा आगो लगाएको र त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको उनले बताए। भुसालले भने, ‘माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ। अब उम्रिन मुस्किल छ।’
नेता भुसालले कम्युनिस्ट पार्टीभित्रको बिउ हाइब्रिड नबनाएसम्म पार्टीहरूभित्र पहिरो गइरहने दाबी गरे। उनले भने, ‘हामीले नेकपा हाइब्रिड बनाएका थियौं। सत्ताकै कारण बुद्धि बिग्रियो र भकारीमै आगो लगायौं। ऋब पनि एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीभित्रका नेता, कार्यकता तान्ने खेल खेलिए वामपन्थीको हरिविजोग हुने दिन टाढा छैन।’