शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहीबारसम्म भारी वर्षाको सम्भावना, वामदेवलाई कांग्रेस ठूलो दल बन्ने डर [२०७९-३-१४]

बिहीबारसम्म भारी वर्षाको सम्भावना, वामदेवलाई कांग्रेस ठूलो दल बन्ने डर [२०७९-३-१४]

ओलीले आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ टिपेक्स लगाएर पत्र सार्वजनिक गरिएको दावी गरे। उनले आफू प्रधानमन्त्री नहुँदै सेनाले अमेरिकी दूतावासमा पत्र पठाएको जिकिरसमेत गरे।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू:

  • बिहीबारसम्म भारी वर्षाको सम्भावना रहेकाले पूर्वतयारी गर्न र सचेत रहन मौसम विभागको आग्रह, अविरल वर्षाका कारण ठाउँठाउँमा डुबान र पहिरो। चट्याङ लागेर ५ को मृत्यु 
  • नेकपा विभाजनपछि कुनै पनि दलमा सक्रिय नरहेका वामदेवले घोषणा गरे नयाँ पार्टी, कम्युनिस्ट नमिले कांग्रेसले बहुमत ल्याउने चिन्ता व्यक्त। वामदेवलाई कांग्रेसको डर 
  • नेकपा एकीकृत समाजवादीको मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको माओवादीको टिप्पणी, मंसिर २१ गते चुनाव घोषणाको तयारी भइरहेको नवनियुक्त मन्त्रीको भनाइ। चुनावी तयारी 
  • सार्वजनिक अनियमितताका विषयमा सरकारलाई प्रश्न उठाउने जिम्मेवारी पाएको लेखा समिति 'चुपचाप':  भ्रष्टाचारका कयौँ प्रकरण सार्वजनिक हुँदा पनि समितिको अस्वाभाविक मौनता। लाजमर्दो मिनिसंसद्
  • अमेरिकी राष्ट्रपति जो बाइडेन, उनकी पत्नी र छोरीसहित २६ जनालाई रूस जान प्रतिबन्ध, विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ता र सरकारी पूर्वअधिकारी पनि सामेल। बाइडेनलाई प्रतिबन्ध 

अब समाचार विस्तारमा 

भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले मंगलबारदेखि बिहीबारसम्म मनसुन थप सक्रिय हुने जानकारी दिएको छ। देशको पहाडी भूभागमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनुका साथै तराईमा बाढी तथा डुबान समस्या हुन सक्ने भएको भन्दै विभागले सचेत रहन आग्रह गरेको हो। 

ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने विभागको अनुमान छ। मंगलबार रातिदेखि बुधबार प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा भई केही स्थानमा भारी वर्षाको सम्भावना छ।

यता,  सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ। बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने माछा मार्नेसमेत प्रतिबन्ध लगाएको छ। 

मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण पूर्वी तराईका ठाउँठाउँमा डुबानको समस्या देखिएको छ। मोरङका सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका थुप्रै बस्ती डुबान र कटानको समस्यामा छन्। उनीहरुलाई उद्धार र राहतको काम पालिकाहरुले गरिरहेको छन्। 

मोरङको सुन्दरहरैचामा गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरहरैचा-६का ५८ वर्षीय रामबहादुर विक छन्। उता इटहरीकाका पनि ठाउँठाउँमा डुबान समस्या देखिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन्। 

यसैबीच, कैलाली र कञ्चनपुरमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ। छुट्टाछुट्टै ठाउँमा खेतमा काम गरिरहेको अवस्थामा चट्याङले लागेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र वडा नम्बर ८ ‘क’ गाउँकी २५ वर्षीय शारदा थापाको चट्याङ लागेर मृत्यु भएको छ। कैलालीको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरी र कैलारी गाउँपालिका–१ रानामुराकी ५६ वर्षीय सुगपंखीदेवी चौधरीको चट्याङ लागेर मृत्यु भएको छ। रुपन्देहीमा पनि चट्याङ लागेर १ जनाको मृत्यु भएको छ। 

वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकमा यातायात अवरुद्ध भएको छ। बुटवलका विभिन्न स्थान जलमग्न भएका छन्। जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहलगायतको घर डुबानमा परेको छ।

वामदेवले खोले दल

वामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन्। मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन्।

'नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान' नामक दल घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन्। पार्टीमा ७५ जनालाई केन्द्रीय सदस्य बनाएका छन्। 

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए। नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका उनी पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गरेका हुन्।

पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ। पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन्। घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन्। पार्टीमा १५ सदस्यीय स्थायी कमिटी हुनेछ।

पार्टीका संयोजक बामदेव गौतमले परिवार र आफ्नो स्वार्थको लागि पार्टी नखोलेको दाबी गरेका छन्। मंगलबार पार्टी घोषणा कार्यक्रममा पत्रकारहरुका प्रश्नको जवाफ दिँदै उनले पदमा बसिरहने महत्वाकांक्षले पनि पार्टी नखोलेको जिकिर गरे।

कार्यक्रममा गौतमले बाम घटकबीच एकता वा कार्यगत एकता नभए कांग्रेसले विजय प्राप्त गर्ने उनको भनाइ छ। कम्युनिस्टहरु नमिल्दा कांग्रेसले सके बहुमत ल्याउने नसके ठूलो पार्टीको रुपमा आउने उनले भन्दै उनले त्यसलाई रोक्नुपर्ने बताए। 

पार्टी घोषणासभामा पदाधिकारीको घोषणा गरिएको छैन। बामदेवको पार्टीले अन्य दलहरुसँग वार्ताका लागि समन्वय गर्ने बताइएको छ। 

आफूलाई मुछ्न एसपीपीको पत्रमा टिपेक्स लगाएको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको दाबी गरेका छन्। 

मदन भण्डारी जयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ओलीले २७ अक्टोबर २०१५ मा आफू प्रधानमन्त्री भएको बेला पत्र पठाएको भनिए पनि त्यसअघि नै पत्र पठाइसकेको हुन सक्ने दावीसमेत गरेका छन्। हाल सार्वजनिक भएको तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पठाएको पत्रको मिति संशोधन गरिएको उनको आरोप छ। 

ओलीले आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ टिपेक्स लगाएर पत्र सार्वजनिक गरिएको दावी गरे। उनले आफू प्रधानमन्त्री नहुँदै सेनाले अमेरिकी दूतावासमा पत्र पठाएको जिकिरसमेत गरे।

नेकपा एसको अपरिपक्व निर्णय

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताए। 

केन्द्रीय सदस्य शर्माले ४/५ महिनामा कुनैपनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताएका हुन। पालो पुर्‍याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहित गरिनुपर्ने उनको भनाई छ।

केन्द्रिय सदस्य शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरु लागिपरेको स्पष्ट पारे।

मंसिर २१ मा चुनाव !

शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन्। 

मंगलावार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन्। सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको उनको भनाइ छ। 

मन्त्री चौधरीले राष्ट्रपति,प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएरमात्रै मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक समेत इमान्दार हुनुपर्ने उल्लेख गरे।

काठमाडौंमा रोहिंग्याको विरोध

काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अघि रोहिंग्या शरणार्थीहरुले बिरोध प्रदर्शन गरेका छन्।

संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन्। विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन्। म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रुपमा आएका उनीहरुले यूएनएचसीआरले चासो नदिएको गुनासो गरे। 

रोहिंग्या शरणार्थीहरुले बालबालिकाहरुको अधिकार हनन गरिरहेको भन्दै सोमबारबाट बिरोध प्रदर्शन गरिरहेको छ। 

एमाले कैलाली अध्यक्षको जिम्मेवारी खोसियो

नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ। प्रदेश कमिटी बैठकले थापालाई जिल्ला अध्यक्षबाट हटाउने निर्णय गरेको हो। चुनावमा अन्तर्घात गरेको ठहर गर्दै प्रदेश कमिटीले उनको जिम्मेवारी खोस्ने निर्णय गरेको हो। जिल्ला कमिटीले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको थियो। 

थापालाई अध्यक्षबाट हटाएसँगै उपाध्यक्ष दुर्गा जोशीलाई कार्यबाहक अध्यक्ष तोकिएको प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिए। प्रदेश कमिटी बैठकले साउन १५ भित्रजिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत गरेको छ।

आत्महत्या संकेत गर्ने दिलमायाको पोस्टमार्टम रिपोर्ट
शंकास्पद मृत्यु भएकी भनिएकी लोकगायिका दिलमाया सुनारको झुन्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। 

उनको मृत्युको कारणबारे थप अनुसन्धानका लागि रगत जाँच गर्न नास्ट पठाउने तयारी प्रहरीले गरेको छ।  त्यसैगरी भजाइनल स्वाब परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब) पठाइएको छ। 

रगतको रिपोर्ट आउन ७ दिन लाग्ने भएकाले त्यसपछि मात्रै 'आत्महत्या' वा हत्या भन्ने पत्ता लाग्ने प्रहरीले बताएको छ।

लाजमर्दो लेखा समिति

अर्थमन्त्रीको मिलिभगतमा पूर्वनासुले नै बजेटमा चलखेल गरेको समाचार बाहिरिएपछि संघीय संसद्को प्रतिनिधिसभामा विरोध भयो। तर देशको आर्थिक सुशासनको पाटो हेर्ने जिम्मा पाएको सार्वजनिक लेखा समितिले समितिको बैठक बसाएर छलफल गर्नसमेत पहल गरेन।

अर्थमन्त्री शर्माको व्यक्तिगत स्वार्थ नमिल्दा गभर्नर महाप्रसाद अधिकारीलाई बिनाकारण छानबिन समिति बनाएर सरकारले निलम्वन गर्‌यो। सार्वजनिक लेखा समितिले यस विषयमा मौन बस्यो।

त्यस्तै, यातायात व्यवस्था विभागका प्रमुख तथा पूर्वप्रमुखहरूले इम्बोस्ड नम्बर जडानका लागि अर्बौ रुपैयाँ भ्रष्टाचार गरेको विषय बाहिर आयो। लेखा समिति त्यसमा पनि चुपचाप बसिदियो। 

पछिल्लो यी उदाहरणले  नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार गठन भएसँगै मिनी–संसद्को रूपमा रहेको सार्वजनिक लेखा समितिमाथि गम्भीर आरोप लाग्न थालेको छ। 

यस विषयमा समितिका सदस्य र सचिवलगायतको प्रतिक्रियाका विषयमा तयार पारिएको समचार नेपाल समय डट कममा पढ्न सकिनेछ। 

नेप्सेमा ओरालो

आइतबार करिब ९५ अंकले बढेको नेप्से त्यसपछिका दुई दिन निरन्तर घटेको छ। सोमबार नेप्से २३ अंक घटेको थियो भने मंगलबार ११ दशमलव ८२ अंक घटेको छ। 

मंगलबार नेप्से परिसूचक ०.६१ प्रतिशत घटेर १ हजार ९२१ बिन्दुमा बन्द भएको हो। यो दिन कारोबारमा आएका २३०  धितोपत्रको ३० लाख ३७ हजार ६८० कित्ता कारोबार भएको छ। 

कारोबारमा आएका २३० धितोपत्रमध्ये सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ र जीवन बिमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

अस्ट्रेलियामा बढे नेपाली

अष्ट्रेलिया पुग्ने नेपालीको संख्या दिनदिन बढ्दै गएको अध्ययनले देखाएको छ। पछिल्लो पाँच वर्षमा अस्ट्रेलिया पुग्ने नेपालीको संख्या दोब्बरभन्दा बढी पुगेको त्यहाँको जनगणना प्रतिवेदनले देखाएको हो। 

सन् २०१६ देखि २०२१ सम्म अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि भएको छ। अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको आंशिक तथ्याङ्क अनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या करिब ७० हजार पुगेको छ।

यस्तै, पछिल्लो जनगणना अनुसार अष्ट्रेलियामा बसोबास गर्ने आप्रवासीमध्ये सबैभन्दा बढी भारतीयहरु छन्। चीन र न्युजिल्याण्डलाई पछि पार्दै भारतले आफ्नो संख्या बढाएको हो। 

जनगणनाको बीचमा भारतमा जन्मेका करिब २ लाख २० हजार अष्ट्रेलियाबासी भएका छन्। अष्ट्रेलियामा पहिलो पटक ५० प्रतिशतभन्दा बढी बासिन्दा विदेशमा जन्मेका वा आप्रवासी रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

बाइडेनलाई रुसमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी र छोरीलाई रूस भ्रमणमा प्रतिबन्ध लगाइएको छ। मस्कोले अन्य २३ अमेरिकीलाई पनि यात्रामा प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले मंगलबार जनाइएको छ। 

रुसी राजनीतिक र सार्वजनिक व्यक्तित्वविरुद्ध लगातार विस्तार भइरहेको अमेरिकी प्रतिबन्धको प्रतिक्रियाको रूपमा २६ अमेरिकी नागरिकलाई ’स्टप लिस्ट’मा थपिएको मन्त्रालयले सूचीसँगै रहेको नोटमा जानकारी दिइएको छ। 

सूचीमा मेनका सुसान कोलिन्स, केन्टकीका मिच म्याककोनेल, आयोवाका चार्ल्स ग्रास्ले, न्यूयोर्कका कर्स्टन गिलिब्रान्डलगायत धेरै अमेरिकी सिनेटर रहेका छन्।

यसमा धेरै विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ता र अमेरिकी सरकारका पूर्वअधिकारी पनि सामेल रहेका छन्।

प्रकाशित: Jun 28, 2022| 21:29 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।