सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसको निर्णय : वामपन्थीलाई एकताबद्ध हुन आग्रह, लोकतान्त्रिकलाई एकजुट हुन आह्वान

नेकपा एसको निर्णय : वामपन्थीलाई एकताबद्ध हुन आग्रह, लोकतान्त्रिकलाई एकजुट हुन आह्वान

बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। प्रस्तावमा कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानको रक्षाका लागि एकताबद्ध हुन आह्वान गरिएको थियो।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले कम्युनिस्ट तथा वामपन्थी शक्तिलाई एकतावद्ध हुन आह्वान गरेको छ। असार १३ र १४ गते भएको दलको केन्द्रीय परिषदको पहिलो बैठकले यस्तो आह्वान गर्ने निर्णय गरेको हो। 

National life

बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। प्रस्तावमा कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानको रक्षाका लागि एकताबद्ध हुन आह्वान गरिएको थियो।

'समाजवादी कार्यदिशा अङ्गालेका सम्पूर्ण वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण, सङ्घीयता, धर्मनिरपेक्षता तथा संविधानको रक्षाको लागि एकतावद्ध हुन यो बैठक आग्रह गर्दछ,’ पारित भएको प्रस्तावको १३ नम्बर बुँदामा उल्लेख थियो। 

यस्तै पार्टीले लोकतान्त्रिक शक्तिहरूलाई पनि एक हुन आग्रह गरेको छ। वामलोकतान्त्रिक गठबन्धनमा रहेका दललगायत सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन समेत बैठकले आह्वान गरेको हो। पारित प्रस्तावको १४औँ बुँदामा यो विषय उल्लेख छ। 

यस्तो थियो १५ बुँदे प्रस्ताव

Shivam cement

१. दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक रूपमा बृद्धि भएको छ। मूल्यबृद्धिले जनताको दैनिक जीवन कष्टकर भैरहेको अवस्थामा हालै सरकारले पेट्रोल तथा डिजेलमा मूल्य घटाउन गरेको निर्णयलाई स्रहाना गर्दै यो बैठक दैनिक उपभोग्य वस्तुहरूको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गर्दछ।

२. खेतीपातीको समयमा मल तथा बिउको आपूर्तिमा चरम अभाव देखिएको छ। यो बैठक किसानहरूलाई सहज तरिकाबाट मल तथा बिउ–बिजनको आपूर्तिको व्यवस्था यथाशिघ्र मिलाउन सरकारलाई आह्वान गर्दछ।

३. देशका विभिन्न स्थानहरूमा महिला तथा बालिकाहरूमाथि भईरहेको यौनिक हिंसा तथा सामूहिक बलत्कारको अपराधिक घटनाप्रति यो बैठक घोर भत्सना गर्दछ। साथै, यस्ता जघन्य अपराधका घटनामा संलग्न अपराधीमाथि कठोर कानूनी कार्वाहीको माग गर्दै पिडित महिला तथा बालिकाहरूको उचित संरक्षण, उपचार, पुनर्स्थापना र क्षतिपूर्तिका साथै सुरक्षित एवं सम्मानजनक सामाजिक जीवनको प्रत्याभूतिका लागि सरकार समक्ष माग गर्दछ।

४. यस वर्ष अत्याधिक वर्षा हुनसक्ने प्रक्षेपण गरिएको हुनाले प्राकृतिक प्रकोपको न्युनिकरण, विपद् व्यवस्थापनको पर्याप्त तयारीका साथै सम्भावित खोज, उद्धार र राहत कार्यका लागि आवश्यक सबैखाले पूर्व तयारीमा ध्यान दिन यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ। साथै, यो बैठक हाम्रो सम्पूर्ण पार्टी पङ्क्तिलाई पनि सम्भावित विपद् र यसको व्यवस्थापनका लागि आवश्यक पर्दा खोज, उद्धार र राहतका लागि तयार रहन अपिल गर्दछ।

५. भारतले नेपालको सिमाना नजिकै बनाएका बाँधहरूको कारणले नेपालको तराईको भू–भाग बर्षेनी डुवानको समस्यामा पर्दै आएको छ। अतः यो समस्यालाई नेपाल सरकारले गम्भीरता पूर्वक लिई भारतसँग वार्ताको माध्यमबाट दीर्घकालीन रुपमा समाधान गर्नका लागि पहल गरोस भन्ने यो बैठक माग गर्दछ।

६. राज्यका सबै अंगमा भ्रष्टाचार कमिसनतन्त्र र विचौलियाको दबदबा मौलाएको अवस्थामा यो बैठक जनचाहाना अनुरुप राज्यका सबै अंग र तहहरूमा भ्रष्टाचारको छानविन गर्न र भ्रष्टाचारीहरूमाथि कार्वाही गर्न सम्बन्धित निकाय र सरकारसमक्ष माग गर्दछ।

७. लामो समयदेखि विद्यमान रहेको सुकुम्बासी समस्या समाधान गर्नका लागि पुनर्गठन गरिएको भूमि समस्या समाधान आयोगले यथाशिघ्र वास्तविक सुकुम्बासी पहिचान गरी प्रभावकारी ढंगले दीर्घकालिन समाधानको पहल गर्न यो बैठक आह्वान गर्दछ।

८. वास्तविक नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने, सङ्घीयतालाई प्रशासनिक रुपमा व्यवस्थापन गर्ने, निजामति सेवालाई व्यवस्थित गर्ने तथा तीन वटै तहका सरकारबिचको काम र भूमिकालाई व्यवस्थित गर्ने ऐन कानुनहरू यथाशिघ्र निर्माण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ।

९. काठमाडौँ उपत्यका लगायत मुलुकका केही स्थानहरूमा झाडा पखालाका विरामीहरू देखिन थालेको प्रति सजग हुँदै यो बैठक सरकार तथा सम्बन्धित निकाय समक्ष झाडा पखला रोखथामका लागि जनचेतना फैलाउन निरोधात्मक कार्य गर्न तथा विरामीहरूको उपचारको उचित व्यवस्था गर्न माग गर्दछ।

१०. अमेरिका लगायत पश्चिमा प्रभुत्ववादी शक्तिहरूले युक्रेनमाथि प्रभुत्व कायम गर्न गरेको प्रयत्न तथा यसले सृजना गरेको सुरक्षा संवेदनशिलताले गर्दा रुस र युक्रेनबिच युद्ध भड्किएको छ। यस युद्धले विश्व शान्तिमा गम्भीर असर पारेको छ। यस युद्धले समग्र विश्वमा मानवीय संकट, आर्थिक मन्दी, महंगी तथा खाद्यान्न सङ्कटको स्थिति सृजना गरेको छ। तसर्थ, युद्धरत पक्षसँग यो बैठक तत्काल युद्धविराम गरी वार्ताद्वारा समस्याको समाधान गर्न र दिगो शान्ति कायम गर्न जोडदार अपिल गर्दछ।

११. राष्ट्रिय हित, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षाका लागि नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको छ। नेपाल पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा छिमेकी तथा मित्र राष्ट्रहरूसँग आपसी हितका लागि सुमधुर सम्बन्ध कायम गर्न प्रतिबद्ध छ। हामी कुनैपनि सैनिक गठबन्धन, प्रतिरक्षा रणनीति र सुरक्षा योजनामा संलग्न हुन सक्दैनौँ। यसै पृष्ठभूमिमा सरकारले सत्ता गठबन्धनको निर्णय अनुरुप एसपीपी स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न नहुने निर्णय सहितको पत्र संयुक्त राज्य अमेरिकालाई पठाएकोमा यो बैठक सरकारलाई धन्यवाद ज्ञापन गर्दछ।

१२. माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा सहि विचार र राजनीतिक कार्यदिशा अङ्गालेका तर विभिन्न पार्टी र समूहमा विभक्त भई क्रियाशील रहेका कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूलाई कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकतावद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न यो बैठक सबै क्रान्तिकारीहरूमा हार्दिक अपिल गर्दछ।

१३. समाजवादी कार्यदिशा अङ्गालेका सम्पूर्ण वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण, सङ्घीयता, धर्मनिरपेक्षता तथा संविधानको रक्षाको लागि एकतावद्ध हुन यो बैठक आग्रह गर्दछ।

१४. प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहँदै यो बैठक वामलोकतान्त्रिक गठबन्धनमा रहेका दलहरू लगायत सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गर्दछ।

१५. स्थानीय तहको निर्वाचनमा विजयी हुनु भएका सम्पूर्ण पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य एवं जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरूलाई यो बैठक बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकाल सफलताको कामना गर्दछ। साथै, स्थानीय तह निर्वाचनको सफलताको लागि योगदान गर्नु हुने निर्वाचन आयोग, सरकारी निकाय, सुरक्षा अंग लगायत सम्पूर्ण निकाय र व्यक्तिमा धन्यवाद ज्ञापन गर्दछ।

प्रकाशित: Jun 28, 2022| 20:17 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...