काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन र आफ्नो पार्टीभित्र ७–७ वटा समस्या देखा परेको बताएका छन्। सोमबारबाट सुरु भएको केन्द्रीय परिषद् बैठकमा आफ्नो तर्फबाट प्रतिवेदन पेस गर्दै उनले ती समस्या औंल्याएका हुन्।
गठबन्धनमा उपगठबन्धन बनेको र नेपाली कांग्रेस र माओवादीले आफ्नो हितमा मात्रै गठबन्धनलाई प्रयोग गर्न चाहेको आरोप प्रतिवेदनमा लगाइएको छ।
गठबन्धनको हकमा नेपालले सातवटा समस्या प्रतिवेदनमा औंल्याएका छन्। पहिलो, अन्य दलले गठबन्धन गर्न नै नचाहने समस्या देखिएको उनको आरोप छ। त्यस्तै दोस्रोमा गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, तेस्रोमा गठबन्धनभित्र उपगठबन्धन गर्ने, चौथोमा गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने, पाँचौं समस्या गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गर्ने, छैटौंमा गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर भएको र सातौं समस्याको रुपमा गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहेको आरोप नेपालले लगाएका छन्। मुख्यतः नेपाली कांग्रेस र माओवादी केन्द्रमा यस्तो समस्या धेरै देखिएको उनको आरोप छ।
त्यस्तै पार्टीभित्र पनि सात समस्या देखिएको नेपालले उल्लेख गरेका छन्। गठबन्धन भैहाल्छ भनेर आफ्नो तयारीमा राम्रोसँग नलाग्ने, आफूलाई केन्द्रविन्दुमा राखेर गठबन्धन गर्न चाहने अथवा जहाँ आफ्नो संगठन तुलनात्मक रूपमा बलियो छ त्यहाँ लिन जोड गर्नुपर्नेमा त्यसो नगरी व्यक्तिलाई केन्द्रबिन्दुमा राखेर सिट लिन चाहने, गठबन्धन हुँदा उमेदवारी दिन तँछाडमछाड गर्ने तर गठबन्धन नहुने भएपछि भने दिएको उमेदवारी पनि फिर्ता लिने, चुनावलाई जनतामाझ राजनीति पुर्याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यममात्र ठान्ने समस्या आफ्नो पार्टीभित्र रहेको उनको ठहर छ।
त्यसैगरी पार्टीको टिकटबाट दिइएको उमेदवारी आफूखुसी फिर्ता लिने, आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर पनि हिँड्ने र आफ्नो वास्तविक शक्ति र प्रभावको आकलन नगरी मनोगत विश्लेषणका आधारम बढी आकांक्षा राख्नेजस्ता समस्या पार्टीभित्र देखिएको उल्लेख प्रतिवेदनमा गरिएको छ।