काठमाडौं- नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार नवनियुक्त पाँच मन्त्रीहरुको शपथ ग्रहण सोमबार बिहान ११ बजे हुने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। आइतबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर भएका छन्।
एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।
राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको छ।