काठमाडौं- नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिएका हुन्।
केही दिनअघि अध्यक्ष नेपालले '१० भाई एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो खन्छौ' भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए। एकीकृत समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे। सांसद भट्टराईले आफूले गरेका गल्तीहरुलाई आत्मसात गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पेर आफू आनन्दले बस्न सुझाव दिएका हुन्। मुख छोड्दै हिँड्ने हो भने आफूलाई पनि त्यो भन्दा धेरै मुख छोड्न आउने चेतावनीसमेत उनले दिए।
‘माधव नेपाल जस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन। उहाँ सम्हालिनु पर्छ। अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ। राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ। उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु! उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस्। उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँडुनभएको छ, त्यो असम्भव कुरा हो,' भट्टराईले भने, 'असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीहरुलाई रिलाइजेसन गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने, सन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन। माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन। उहाँलाई मुख छोड्दा त्यो भन्दा धेरै मुख छोड्न सकिन्छ।’
सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरुले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताए। ‘नेकपा एमालेको विभाजनको औचित्य हिजो पनि थिएन, आजपनि छैन र भोलि पनि त्यो पुष्टि हुँदैन । त्यसैले विभाजित भएर जाने साथीले विभाजन गलत थियो भनेर आत्मबोध गर्नु राम्रो हुन्छ,' उनले थपे, 'शर्त राखेर जानुको कुनै अर्थ छैन । समाजवादीका साथीहरु जसले पार्टी विभाजन गरेर जानुभएको छ, उहाँहरुले शर्त राखेर हिँड्नुको अर्थ छैन।’
त्यस्तै नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सबै नेताहरुले घमण्ड त्यागरेर समीक्षा गर्न जरुरी रहेको बताएकाले थिए। कम्युनिस्टको जनमत लगभग दुई तिहाइ भएपनि विभाजित हुँदा त्यसको अर्थ नदेखिएको उनको भनाइ छ। एकीकृत समाजवादी पार्टीले एकता गर्ने कुरा राखिएका शर्तहरुमा छलफल हुन जरुरी रहेको उनको धारणा छ।
‘सबै कम्युनिस्ट पार्टीहरुमा इगो हुन्छ। इगो त्याग्नुपर्छ। एमालेले यस्तो गरेको छ, भन्ने दोषहरु लगाएका छन्। यसमा समीक्षा त जरुरी छ। नेपालको कम्युनिस्ट आन्दोलनमा अचाक्ली समीक्षा जरुरी छ,' नेता तामाङले भने, 'लगभग दुई तिहाई जनमत छ कम्युनिष्ट पार्टीसँग तर टुक्रिएर बसेका छन्। उहाँहरुले औपचारिक निर्णय गरेर आउने हो भने एमालेसँग वार्ताका लागि उहाँहरुले राखेको कतिपय शर्तहरु हो होइन, त्यसको पुष्टिपनि हुन जरुरी छ। त्यसबाट निस्किएको आधारमा अघि बढ्न सकिन्छ होला।’
त्यस्तै नेकपा एमालेका सांसद खगराज अधिकारीले मुल घरमा फर्किन चाहनेहरुलाई एमालेले स्वागत गर्ने बताएका थिए। आफ्नो बाटो गलत भयो भनेर समीक्षा गर्नेहरुलाई एमालेले क्षमता अनुसारको जिम्मा दिने पनि उनको भनाइ छ।
‘हामीलाई कसैको बारेमा सोच्ने फुर्सद छैन। आफ्नै काममा व्यस्त छौँ । सबै साथीहरुलाई व्यक्तिगत रुपमा मुल घरमा फर्किनुस्, स्वागत छ,' नेता अधिकारीले भने, 'तपाईहरुले गरेको काम बेठिक थियो भन्ने प्रमाणित भयो । जनताले पनि म्याण्डेट दिएनन् । हामी योग्यता क्षमता अनुसारको जिम्मा दिन्छौँ।’
सांसद अधिकारीले नेकपा एमालेसँग विभाजित भएर जानु आफ्नै गल्ती रहेको कुरा एकीकृत समाजवादीका पछिल्ला कार्यहरुले पुष्टि गरेको दाबी गरे।