काठमाडौं- पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आज नभए प्रधानमन्त्रीबिरुद्धमा गम्भीर कदम चाल्नपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बौल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रिय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिए। सम्मानित नेता खनालले आफूसँग अब पनि मन्त्रीमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नु बाहेकको विकल्प नभएको बताए।
‘नयाँ मन्त्रीले सकेसम्म आज शपथ खानुपर्छ । प्रधानमन्त्रीले आज कदम चाल्नुपर्छ । आजपनि कदम चाल्नु भएन, ढिला भयो भने प्रधानमन्त्रीको बारेमा पनि हामीले के गर्नुपर्ने भन्ने सोच्नुपर्छ। सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले निर्णय गरेको छ,' उनले भने, 'पोलिटब्यूरोले निर्णय गरेको छ, केन्द्रीय कमिटीले निर्णय गरेको छ, यी सबै कुरालाई अस्वीकार गर्ने हो भने हामीले थप गम्भीर कदम चाल्नु बाहेक अर्को विकल्प छैन। हामीले निर्णय गरिसकेका छौँ। एकैपटक कार्यान्वयन हुन्छ, कार्यान्वयन जसले गर्नुहुन्छ, धन्यवाद दिन्छौँ, कार्यान्वयन नगर्नेलाई पार्टीले विधान बमोजिम कारबाही गर्छ।’
फरक प्रसंगमा सम्मानित नेता खनालले मुख्यमन्त्री फेरबदलको कुरा शुरुवाती सम्झौता बमोजिम हुने पनि बताए।