काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सम्पन्न भएको छ। दुई दिनसम्म चलेको बैठकमा पार्टीका मन्त्रीहरूको हेरफेर, पोलिटब्युरो बैठक र केन्द्रीय कमिटी बैठकमा एजेन्डाका विषयमा छलफल भएको नेकपा एसका उपमहासचिव डा गंगालाल तुलाधरले जानकारी दिए।
'बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रिय सविचवालयको २७ औँ बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाव दिनुभएको छ,' बैठकपछि सञ्चारकर्मीहरुसँग उपमहासचिव डा. तुलाधरले भने, 'बुधवार र बिहीवार गरी दुई दिन बसेको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय परिषद् बैठकका एजेन्डाका विषयमा छलफल भएको छ।'
पार्टीले शुक्रबारका लागि पोलिटब्युरो बैठक बोलाएको छ। शनिवार केन्द्रिय कमिटी बैठक बस्दैछ भने असार १३ र १४ गते केन्द्रिय परिषद्को बैठक तय भएको छ।
ती बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको उनले जनकारी दिए। ‘हाम्रो पार्टीको केन्द्रिय सविचवालयको २७ औँ बैठक हिजो शुरु भएर आज सम्पन्न भएको छ। मुलरुपमा यो सचिवालयको बैठक अरु तीन वटा बैठकको तयारीस्वरुप बसेको बैठक हो।'
उनका अनुसार ती बैठकमा पेस हुने अध्यक्ष नेपालका प्रतिवेदन आजै छापिनेछन्। बैठकमा अधिकांश नेताहरुले स्थायी कमिटी र सचिवालयले गरेका निर्णय लागू नभएको भन्दै प्रश्न उठाएका थिए। नेताहरुले पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटो भन्दा छिटो मन्त्रीमण्डल हेरफेरको कार्यान्वयन गर्न आग्रह गर्नुपर्ने बताएका थिए।
यस्तै गठबन्धनको गन्तव्य अझै नसकिएकोले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि कायम गरेर जानुपर्ने विषयमा धारणा राखेको उपमहासचिव तुलाधरले जानकारी दिए। नेताहरूले पार्टीका निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै कार्यकर्ताहरुमा नराम्रो सन्देश गएको उल्लेख गरेका थिए।