बुटवल- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले एक महिला र बालिकामाथि कुटपिट गरेर विवादमा आएपछि सरकारले गठन गरेको छानबिन समितिले काम थालेको छ। आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले बुधबारदेखि छानबिन सुरु गरेको हो।
घटनाबारेमा छानबिन समितिले बुधबारदेखि काम थालेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए। ‘आजदेखि काम शुरु भएको छ, के भयो हो, घटनाक्रम बुुझ्ने काम भइरहेको छ,’ उनले भने।
राज्यमन्त्री वलीले तुलसीपुरका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी ६ वर्षीया छोरीलाई गत जेठ ३१ गते घरमै प्रवेश गरेर कुटपिट गरेकी थिइन। घटनालगत्तै राज्यमन्त्री वलीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको थियो।
कुटपिट भएपछि न्यायको माग गर्दै मीनाले प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन्। राज्यमन्त्रीलाई मुद्दा अगाडि बढाउन सभामुखको अनुुमति चाहिने भन्दै प्रहरीले अलमल गरेपछि ओली रातारात बुटवल आएकी थिइन्। उनी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएर उपचार गरेकी थिइन्।
प्रतिपक्षी एमालेले राज्यमन्त्री कुटपिटमा संलग्न भएको भन्दै बर्खास्ती माग गरेपछि सरकारले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। मन्त्री शर्माको संयोजकत्वमा गठन भएको समितिमा कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन्। असार १ गते गठन गरिएको छानबिन समितिले असार १५ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्नेछ।