काठमाडौं- रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले उजुरी दिएका छन्। मनोज पण्डित, पुष्कर शाह, राजकुमार बजगाईंलगायतले निर्वाचन आयोग पुगेर उजुरी दिएका हुन्।
स्वतन्त्र शब्दको आफैंमा महत्व रहेको र पार्टीको नाम नै स्वतन्त्र राख्दा स्वतन्त्र उम्मेदवारलाई असहज परिस्थिति निर्माण हुने हुँदा उजुरी दिइएको उनीहरूले बताएका छन्।
‘यसले जनतामा भ्रम र अन्योल उत्पन्न गरी स्वतन्त्र शब्दको अर्थ नै अपव्याख्या हुने अवस्था भएकाले रवि लामिछानेको दलको नामको विषयमा विश्लेषण गरी निर्णय लिन अनुरोध गर्दछौं,’ आयोगलाई बुझाइएको निवेदनमा लेखिएको छ। स्वतन्त्रहरुको तर्फबाट मनोज पण्डितले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी बुझाएका थिए।
रवि लामिछानेले मंगलबार काठमाडौंमा कार्यक्रम गरी राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको घोषणा गरेका थिए। स्वतन्त्र उम्मेदवारी अभियानका नाममा दिइएको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रयोग भएको ‘स्वतन्त्र’ शब्दले ले वास्तविक स्वतन्त्र व्यक्ति, समूह, संस्थालाई गम्भीर आघात पुगेको दाबी गरिएको छ।
राजनीतिक पार्टीमा आबद्धता नजनाई स्वतन्त्र रहने व्यक्तिले मात्र निर्वाचनमा स्वतन्त्रको रुपमा उम्मेदवारी दिन पाउने सार्वभौम अधिकार रहेको कुरा पनि आयोगलाई सम्झाइएको छ। सबै व्यक्ति राजनीतिक पार्टीमा आबद्ध हुन नचाहने भएकाले स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउने गरी संविधानले दिएको अधिकारको प्रयोग गरेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नुले स्वतन्त्र उम्मेदवारमा भ्रम र अन्योल उत्पन्न भएको उजुरीमा उल्लेख छ ।
उजुरीपत्रमा भनिएको छ, ‘परम्परागत राजनीतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरुले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा स्वतन्त्र शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गरिन्छ।’