काठमाडौं– राजनीति गर्न भनेर सञ्चार कर्म छाडेका रवि लामिछानेले आफू व्यवस्था होइन, अवस्था परिवर्तन गर्न राजनीतिमा आएको भन्दै नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्।
राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका हुन्। ‘म आमनागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान मान्छेहरुको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु,’ लामिछानेले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफू कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएनन्। आफूलाई झापा, डडेलधुरा वा चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको उनले सुनाए। सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको अनुमान गरेको लामिछानेले बताए।
उनले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझवुझका साथ उम्मेदवारी घोषणा गर्ने बताए। भने, ‘आवेशमा आएर होइन, भावनामा बगेर होइन, सुझबुझका साथ जहाँबाट तपाईंहरुको प्रतिक्रिया प्राप्त हुन्छ, जहाँ अधिकांश दर्शकहरुले मलाईमात्र होइन, यहाँ जोडिने उम्मेदवारलाई रुचाउनुहुन्छ, त्यहाँ त्यहाँ उम्मेदवारी दिन्छौं।’