सोमबार, कात्तिक २, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • सातै प्रदेशले ल्याए ३ खर्ब ५ अर्बको बजेट, क्रिकेटमा जित फुटबलमा हार [२०७९-३-१]

सातै प्रदेशले ल्याए ३ खर्ब ५ अर्बको बजेट, क्रिकेटमा जित फुटबलमा हार [२०७९-३-१]

सातै प्रदेशका सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्। सातै प्रदेशले ३ खर्ब ५ अर्बको बजेट आज एकैदिन सम्बन्धित प्रदेशसभामा प्रस्तुत गरेका हुन्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू

  • आगामी आर्थिक वर्षका लागि सात वटै प्रदेश सभामा सरकारको बजेट प्रस्तुत, एमालेको अवरोधका कारण लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गर्न ढिलाई।
  • मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी कुनै सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, एसपीपी प्रस्तावलगायत सरकारका काम कारबाहीप्रति राष्ट्रपति विद्यादेवी भण्डारीको असन्तुष्टि। 
  • एसपीपीका विषयमा तत्काल संसदलाई जानकारी गराउन कांग्रेस महामन्त्री गगन थापाको माग, भूराजनीतिक द्वन्द्व निम्त्याउन र नेपाली सेनाको अपमान गर्न सरकार उद्यत रहेको एमालेको आरोप।
  • बाहिरी चक्रपथको निर्माणकार्य अघि बढाउन नसकेको सहरीमन्त्री झाँक्रीको स्वीकारोक्ति, आफ्नो मन्त्रालयको बजेट कटौती गरेको भन्दै अर्थमन्त्रीप्रति पर्यटनमन्त्रीको आक्रोश। 
  • कुशल र आसिफको अर्धशतकीय पारीमा ओमानविरुद्ध ७ विकेट नेपालको सहज जित, इन्डोनेसियासँग नेपालको शून्यका विरुद्ध ७ गोलको फराकिलो अन्तरको हार।

प्रदेशहरूले ल्याए ३ खर्ब ५ अर्बको बजेट
सातै प्रदेशका सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्। सातै प्रदेशले ३ खर्ब ५ अर्बको बजेट आज एकैदिन सम्बन्धित प्रदेशसभामा प्रस्तुत गरेका हुन्। 

प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उक्त बजेट आज प्रदेशसभामा प्रस्तुत गरेका हुन्।

आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख बजेटका स्रोत भएको उल्लेख छ। 

यस्तै संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अनुमान छ। यस्तै राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने उनले उल्लेख गरेका छन्। 

मधेश प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित आय व्ययसहितको बजेट ल्याएको छ। मधेशमा चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार (४६.४४ प्रतिशत) र पुँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै वित्तीय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार २०० (०.३५ प्रतिशत) विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ। 

बागमती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ। बागमतीमा चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेट छुट्याइएको छ। यस्तै, पूँजीगत ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट छुट्याइएको छ। यसैगरी, तथा वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट विनियोजन गरिएको छ। 

गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड रुपैयाँको आयव्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गरेको छ। प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्। 

आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ। बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण हुनेछ। कुल बजेटमध्ये ८८ करोड २५ लाख रुपैयाँ प्रदेशलाई व्ययभार पर्ने अनुमान गरिएको छ।

लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको छ। राजस्व संकलन कम भएको भन्दै यो वर्ष बजेटको आकार घटाउने चर्चा भएपनि अघिल्लो आर्थिक बर्षमा भन्दा २ अर्ब बढि बजेट बढाएर बजेट ल्याएको हो।

बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले आर्थिक बर्ष ०७९÷८० का लागि बजेट ल्याएका हुन। चालु खर्चतर्फ  १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार ( ३१.२६ प्रतिशत ) र  पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार (५७.४१ प्रतिशत) बजेट छुटाइएको छ।

वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब  ८३ करोड १० लाख विनियोजन गरेको आर्थिक मामिलामन्त्री खड्काले जानकारी दिए।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ। बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा झन्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन्। 

कर्णालीमा पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख  २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात् २८.११ प्रतिशत बजेट रहेको छ। 

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ। 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गरेका हुन्। सरकारले कुल बजेटमध्ये चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार (३३.४६ प्रतिशत) र पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपियाँ (६५.७४ प्रतिशत) बजेट विनियोजन गरेको छ।

यसैगरी, सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब ३६ करोड ४० लाख (३.७१ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपियाँ (०.८२ प्रतिशत) बजेट विनियोजन भएको मन्त्री रावलले बताए।

सार्वभौमिकतामाथि  प्रश्न उठ्ने गरी सम्झौता गर्दिनँ : प्रधानमन्त्री 
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारे आलोचना बढेपछि प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन्। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग प्रधानमन्त्री देउवाले अमेरिकासँग त्यसप्रकारको कुनै सम्झौता नगर्ने प्रष्ट पारेका हुन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा भएको छलफलका क्रममा देउवाले एसपीपी सम्झौताबारे सार्वजनिक भएका कुरामा सत्यता नभएको जिकिर गरे। 

नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालले आफूहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले मुलुकको हितमा नहुने कुनै पनि सम्झौता नगर्ने बताएका हुन्।

सन् २०१५ मै अमेरिकाले प्रस्ताव गरेको कार्यक्रमबारे अहिले सुनियोजित रुपमा विवाद झिकिएको देउवाको दाबी थियो। अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दबाब नदिएको पनि देउवाले नेताहरुसँग बताएका थिए। प्रचण्ड र नेपालले सम्झौताबारे प्रश्न उठेकोले यथास्थितिमा सम्झौता गर्न नहुने सुझाव दिएका थिए। 

सरकारप्रति राष्ट्रपति असन्तुष्ट
राष्ट्रपति विद्यादेवी भण्डारीले एसपीपीबारे सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले एमाले निकट पत्रकारहरुलाई शितल निवासमा बोलाएर सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्। 

राष्ट्रपति भण्डारीले राष्ट्र हितविपरीत कुनै काम हुन नदिने भन्दै अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताका विषयमा पत्रकारहरूसँग असन्तुष्टि व्यक्त गरेकी हुन्। 

‘मैले जानेर वा नजानेर राष्ट्र हितविपरीत कुनै पनि काम गर्दिनँ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक पत्रकारले भने। भेटमा मुलुकको सार्वभौमसत्ता र स्वाभिमानलाई झुक्न दिन नहुने, नेपालको भूमिमा विदेशी शक्ति राष्ट्रहरूको चलखेल रोक्न सरकारले नै पहल गर्नुपर्ने बताएकी थिइन्। 

किसानले समयमा मल नपाएको, कृषि उत्पादनलाई सरकारले बेवास्ता गरेको, बिचौलिया हाबी भएको जस्ता विषयमा राष्ट्रपति भण्डारीको चासो थियो। उनले आफूले सकेजति र संविधानले दिएको अधिकार कार्यान्वयन गरिरहेको बताएकी थिइन्।

राष्ट्रपति भण्डारीले अनशन बसिरहेकी निहारिका राजपूतको माग सरकारले सम्बोधन गर्न नसकेको बारेमा पनि चासो राखेको बताइएको छ। 

एसएसपीको विषयमा संसदले माग्यो जवाफ
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे तत्काल संसदलाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्। 

प्रमुख प्रतिपक्ष दल एमालेसहितका सांसदहरुले अमेरिकी सो प्रोग्रामबारे गम्भिर प्रश्न उठाईरहेका बेला सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री थापाले तत्काल संसदमा उभिएर त्यसको जवाफ दिन रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री देउवासँग गरे। 

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको टिप्पणी गरे। 

यस्तो काम कुनै हालतमा स्वीकार्य नहुने र आफूहरुले त्यो कुरा हुन नदिने पनि उनको भनाइ छ। सरकारले नेपाली सेनाको अपमान गरेको आरोपसमेत उनले लगाए।

मन्त्री वलीको विषयले संसद अवरुद्ध
लुम्बिनी प्रदेशसभामा विपक्षी दल नेकपा एमालेले राज्यमन्त्री विमला कुमारी खत्री वलीको विषयमा सरकारको धारणा माग गर्दै सदनमा अवरोध गरेको छ। एमालेको अवरोधपछि बजेट प्रस्तुत गर्ने सदनको कारबाही प्रभावित भएको छ। 

बैठक शुरु हुनासाथ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमेश्वर ढकालले बोल्दै राज्यमन्त्री जस्तो व्यक्तिले एक महिलामाथि घरमै पुगेर आक्रमण गरेको घटनाले सरकारमाथि प्रश्न उठेको भन्दै आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका थिए। 

मुख्यमन्त्रीले सदनमा जवाफ पेस गरेपछि मात्र सदनको कारबाही अघि बढाउन दिने एमाले  संसदीय दलले निर्णय गरेको थियो। उता सरकारले भने मन्त्री विमला वलीको घटनामा छानबिन गर्न समिति गठन गरेको छ। 

ओलीले मंगलबार बिहान दाङ तुल्सीपुर-५ स्थित एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको अभियोग लागेको छ। मीनाले प्रहरीमा आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीसमक्ष कारबाहीको माग गरेकी छन्। 

राज्यमन्त्री खत्रीले आफू आर्थिक कारोबारका लागि बस्नेतको घरमा पुगेको र भित्रबाट चुक्कुल लगाएर बदनाम गरेको बताएकी छन्। राज्यमन्त्री ओली लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचारमा छिन्। मानसिक तनाव उत्पन्न भएकाले अस्पताल भर्ना गरिएको नेकपा माओवादी केन्द्रको भनाइ छ। 

बजेटप्रति मन्त्रीकै असन्तुष्टि
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माणको कार्य अघि बढाउन नसकिएको स्वीकार गरेकी छन्। 

बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्। अघिल्लो सरकारले धेरै गफ गरे पनि काम भने धेरै नगरेको उनको जिकिर थियो। 

उता संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन्। 

बुधबार विनियोजन बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटकपटक आग्रह गर्दापनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिएको गुनासो गरेका हुन्। स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपर्दा आफूलाई अति दुःख लागेको उनको प्रतिक्रिया छ। बजेटको आकार भने ९.८ प्रतिशत बढ्ने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिने बताए। 

मन्त्री आलेले ६ महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताए। 

क्रिकेटमा नेपालको जित
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकीय पारीको सहयोगमा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध ७ विकेटको सजह जित निकालेको छ।

अमेरिकाको टेक्सासमा भएको खेलमा नेपालले लिग–२ को शीर्ष स्थानमा रहेको टोली ओमानलाई ७ विकेटले हराएको हो। यससँगै नेपालले पहिलो खेलमा भोगेको हारको बदला पनि लिएको छ। मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। 

किफायती बलिङ गर्दै हाबी भएको ओमानबिरुद्ध नेपालका लागि ओपनरद्वय कुशल र आसिफलले अर्धशतकीय पारी खेले। कुशलले ५६ तथा आसिफले ६२ रनको पारी खेलेका थिए। ७५ बलको सामना गरेका कुशलले ७ चौका प्रहार गर्दा ८६ बल खेलेका आसिफले ७ चौका र १ छक्का प्रहार गरेका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो। जितसँगै १५ खेलमा १५ अंक जोडेर नेपाल पाँचौ स्थानमा उक्लिएको छ। उता पराजित ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा छ। श्रृंखला अन्तर्गत नेपालले अन्तिम खेल अमेरिकाविरुद्ध बुधवार राति खेल्नेछ। 

फुटबलमा नेपालको लज्जाजनक हार
नेपाली फुटबल टोली इण्डोनेसियासँग फराकिलो अन्तरले पराजित भएको छ। ३३औं मिनेटमा सुमन अर्यालले दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको नेपालले शून्यका विरुद्ध ७ गोलको फराकिलो अन्तरको हार व्यहोरेको हो। 

कुवेतमा जारी एएफसी एशियन कप छनोटको तेस्रो चरणको खेलमा नेपाल इण्डोनेसियाँसग ७–० को फराकिलो अन्तरले पराजित भएको हो। जाबिर अल अहमद स्टेडियममा इण्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल खान पुगेको थियो। यस हारसँगै समूह ए मा रहेको नेपालले अंक बिहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ।

प्रकाशित: Jun 15, 2022| 22:10 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।