काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताएका हुन्।
प्रधानमन्त्री देउवाले पनि आफूहरुलाई मन्त्री हुन आउन नभनेको समेत उनको भनाइ छ। ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको। प्रधानमन्त्रीले हामीलाई मन्त्रीमा आउ भन्दै नभनेको कुरो तपाईहरु बिस्तृत रुपमा प्रचार गरिराख्नु भएको छ।’
सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटोबाटोमा लोकतान्त्रिक समाजवादी पार्टीलाई एकीरणका लागि आह्वान गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। अध्यक्ष यादवले विगतमा आफुहरुलाई पार्टीबाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनले अहिले संकटमा परेकाले सहयोग खोजेको बताए।
अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको उनको आरोप छ। ‘बाटोबाटोमा उहाँ बोलिराख्नु भएको छ। हामीसँग कुनै कुरा गर्नुभएको छैन। हामी उहाँको पार्टी फुटिराख्दाखेरी एकीकरण गरेर जोगाएको होइन? त्यसमा म समेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन? पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन? अनि केको मेल? आज फेरी पार्टीमा संकट उत्पन्न भएको छ उहाँको। संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने। र संकट निवारण भएपछि लखेट्दिने। अनि अहिले आएर फेरि बाटो बाटोमा कुरा सुनिराखेको छु एकिकरणको। केका लागि एकीकरण? किन एकीकरण? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन।’
सांसद कर्णले औपचारिक रुपमा एकीकरणको प्रस्ताव नआएको उल्लेख गर्दै केका लागि र किन एकीकरण गर्नुपर्ने हो त्यसबारे प्रष्ट पार्न आग्रह गरेका थिए।