काठमाडौं- नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन्।
नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको बताए। उनले मन्त्री फेर्नेबारे पार्टीभित्र कुनै छलफल भने नभएको स्पष्ट पारे।
‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन। समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ। कांग्रेसमा पनि दबाब छ। जसपामा दबाब छ,' नेता पुनले भने, 'यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन। हाम्रो अझै छलफल सुरु भएको छैन। अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ।’
माओवादी केन्द्रका अर्का नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताएका छन्। अहिले मन्त्री परिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उल्लेख गरे।
‘सरकारमा फेरबदल नै गर्नुपर्ने भएपनि, पहिलो त संयुक्त सरकार हो यो। संयन्त्र छ। आचारसंहिता छन्। मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरु बदल्छु भनेर कहीँ मिल्छ त्यो? त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन। र अहिले पछिल्लो बेलामा शीर्ष नेताहरु बसिसकेर अहिले बाहिर सार्वजनिक पनि भइसकेको छ,' नेता पोखरेलले भने, 'त्यो नमिल्ने कुरा उहाँहरुले सच्याउनुभएको छ।’
उनले गठबन्धनका शीर्ष नेताहरु बसेर मन्त्री हेरफेर गर्ने निर्णय सच्याइसकेको उल्लेख गरे।