काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले भोलि (बिहीबार) सम्ममा मन्त्रीको शपथ लिइसक्ने दाबी गरेका छन्। उनी हालैमात्र पार्टीका तर्फबाट सहरी विकास मन्त्रीमा सिफारिस भएका थिए।
बुधबार प्रतिनिधिसभाको बैठकका लागि संसद् भवन पुगेका उनले आज नै शपथ ग्रहण हुन सक्ने सम्भावना रहेको पनि बताए। चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
‘पार्टीले निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ। तर हामी पाँच दलीय गठबन्धनभित्रकै एउटा दल हो। हामीले शपथ ग्रहण गर्ने समय राख्दा जसपाका साथीहरूले पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनका लागि आफूहरूलाई केही समय चाहिन्छ भनेपछि केही समय ढिला मात्रै भएको हो,’ उनले भने, ‘मन्त्री त सम्भवतः आज नभए भोलिसम्म फाइनल हुन्छ। आज भएन भने शपथ ग्रहण भोलि पक्कै हुन्छ।’
सांसद चौधरीले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको बताउँदै एकैपटक शपथ गराउन तत्कालका लागि शपथग्रहण रोक्न पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए।