मंगलबार, असार ९, २०८३

सदनमा काठमाडौंको 'फोहोर'

सदनमा काठमाडौंको 'फोहोर'
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– केही सातायता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन। सडक किनारमा फोहोरका थुप्रा जताततै देख्न सकिन्छ। 

National life

काठमाडौंको फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयले विभिन्न माग राखेर फोहोर फाल्न नदिएपछि यहाँ फोहोर थुप्रिएको हो।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहको पहलमा प्रभावित क्षेत्रका स्थानीयसँग सहमति भएपछि फोहो बोकेका ट्रक बञ्चरेडाँडा पुगे। तर, स्थानीयले फेरि अवरोध गरिदिए। बल प्रयोग गरेर लगिएको फोहोर त फालियो तर अर्को खेप फोहोर जान सकेको छैन।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले बुधबार पनि यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित फोहोर विसर्जनमा अवरोध गरेका छन्। फोहोर विसर्जनका लागि सरकारले ठूलो मात्रामा प्रहरी परिचालन गरी घरघरमा धरपकडसमेत गरेको स्थानीयवासीले बताएका छन्। 

काठमाडौं महानगरपालिकाका अनुसार मंगलबार उपत्यकाबाट १५७ ट्रक (करिब १२ सय टन)०फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो। जेठ १० र ११ गते बञ्चरेडाँडास्थित साइटमा फोहोर व्यवस्थापन गरिएको थियो। जेठको १२, १३ र १४ गतेसम्म सिसडोलमा अन्तिम विसर्जन गरिएको थियो। त्यसपछि स्थानीय अवरोधकाकारण फोहोर ढुवानी रोकिएको थियो।

Shivam cement

सोमबार स्थानीयका माग सम्बोधन गर्न भन्दै सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकाबीच सहमति भएको थियो। तर, स्थानीयले सहमति नमान्ने भन्दै विरोध जारी राखेका छन्। 

यसैबीच, फोहोरको विषयले संसद्मा पनि प्राथमिकता पाएको छ। सांसदहरुले काठमाडौंको फोहोर थुप्रिएकोमा चिन्ता व्यक्त गर्दै सरकारको आलोचना गर्नुका साथै विभिन्न सुझाव पनि दिएका छन्। 

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे। काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र जनप्रतिनिधिहरूले फोहोर व्यवस्थापन गर्न काम गरिरहे पनि त्यो पर्याप्त नभएको उनको भनाइ थियो।

‘फोहोर व्यवस्थापनको काममा हामी सबैले सहयोग गर्नुपर्छ। कतिपय कुरा यी दुई निकायले चाहेर मात्रै हुँदैन। स्रोतसाधन र कानुन तथा नियमका गाँठो फुकाउन प्रधानमन्त्रीले नै पहल लिनुपर्नेछ। यसका लागि प्रधानमन्त्रीलाई पहल कदमी लिन आग्रह गर्दछु,’ उनले भने। फोहोर व्यवस्थापनमा नागरिकले पनि सहयोग गर्नुपर्ने उनले बताए। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि रुलिङ गर्न माग गरेको छ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरेका हुन् ।

सभामुखसँग विशेष समय लिएर बोलेका श्रेष्ठले फोहोरको दुर्गन्धसँगै महामारीको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए। फोहोर कहिले उठ्छ भनेर तालुकदार मन्त्रालयबाट सरकारको आधिकारिक जानकारी सदनलाई गराउनुपर्ने उनले माग गरे। ‘तालुकदार मन्त्रालयबाट यस सम्बन्धमा सत्यतथ्य जानकारी आओस् । यस सम्बन्धमा सभामुखबाट रुलिङ चाहन्छु,’ उनले भने।

विशेष समयमा उठाइएको विषय विशेष हुने भन्दै त्यसको तत्काल कार्यान्वयन भएमात्र सदनको गरिमा रहने बताए। ‘राजधानीबासी फोहोरले आक्रान्त छन्, दुखित र चिन्तित छन्,’ उनले भने। स्थानीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको दिन वैशाख १२ को केही दिनपछि देखि नै फोहोर उठ्न छोडेको भन्दै श्रेष्ठले जनताको धैर्यतालाई सम्मान गर्नुपर्ने बताए। निर्वाचन भएर परिणाम आएको यत्रो दिन बित्दा पनि फोहोर नउठेकोमा उनले आपत्ति जनाए। 

‘फोहोरका कारण अन्तर्राष्ट्रिय रुपमा समेत बदनाम भइसकेका छौं हामी। काठमाडौंमा थुप्रिएको फोहोरबाट सम्भावित संक्रमणको जोखिमबाट जोगिन अनावश्यक हिँडडुल नगर्न आन्तरिक सर्कुलर जारी गरेका छन् कूटनीतिक नियोगले। योभन्दा ठूलो बेइज्जत के हुन सक्छ? अब कहिले फोहोर उठ्छ, फोहोरको समस्या कहिले समाधान हुन्छ? जवाफ चाहियो,’ सांसद श्रेष्ठले भने।

प्रकाशित: Jun 08, 2022| 13:05 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...