काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिका, सहरी मन्त्रालय र जनप्रतिनिधिहरूले फोहोर व्यवस्थापन गर्न काम गरिरहे पनि त्यो पर्याप्त नभएको बताए। ‘फोहोर व्यवस्थापनको काममा हामी सबैले सहयोग गर्नुपर्छ। कतिपय कुरा यी दुई निकायले चाहेर मात्रै हुँदैन। स्रोतसाधन र कानुन तथा नियमका गाँठो फुकाउन प्रधानमन्त्रीले नै पहल लिनुपर्नेछ,’ उनले भने, ‘यसका लागि प्रधानमन्त्रीलाई पहल कदमी लिन आग्रह गर्दछु।’
फोहोर व्यवस्थापनमा नागरिकहरूले पनि सहयोग गर्नुपर्ने उनले बताए। विगत दुई सातादेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन। स्थानीयको अवरोधका कारण फोहोर विसर्जन कठिन बन्दै गएको छ।
सोमबार स्थानीयका माग सम्बोधन गर्न भन्दै सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकाबीच सहमति भएको थियो। तर, स्थानीयले विरोध जारी राखेका छन्। मंगलबार र बुधबार फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडीलाई स्थानीय बासिन्दाले अवरोध गरेका छन्।