काठमाडौं- सत्ता गठबन्धनको शीर्ष नेताहरूबीच तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलका शीर्ष नेताहरूको छलफलले तत्काल मन्त्री परिवर्तन नगर्ने विषयमा सहमति जुटाएको हो।
‘तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भनेको छ। सचिवालयका अनुसार संसदमा बजेटबारे छलफल भइरहेको र त्यहाँ मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकोले पनि तत्काल नयाँ मन्त्रीहरू नल्याउने सहमति भएको हो। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
यसअघि नेकपा (एकीकृत समाजवादी) पार्टीले ४ जनालाई नयाँ मन्त्री सिफारिस गरेको थियो भने एक जनालाई राज्यमन्त्रीबाट मन्त्री नियुक्तिका लागि सिफारिस गरेको थियो।
नेकपा एस सचिवालय बैठक बसेर एकीकृत समाजवादीले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। निर्णयलगत्तै कतिपय मौजुदा मन्त्रीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाल समक्ष निर्णयबारे पुनःविचार गर्न आग्रह गरेका थिए।
समाजवादीले आइतबार पुराना ४ मन्त्री फिर्ता बोलाउने निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको थियो।
शीर्ष नेताबीच तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति जुटेपछि उनीहरू तत्काल मन्त्री बन्न नपाउने भएका छन्। यसका साथै नेकपा (एस)बाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्यराज्यमन्त्री भवानीप्रसाद खापुङको थमौती भएको छ। खापुङ राज्यमन्त्रीबाट मन्त्रीका लागि सिफारिस भएपनि उनी बढुवा हुन पाएनन्।