सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधवको दलबाट सिफारिस भएका नयाँ मन्त्रीको नियुक्ति अन्योलमा, नेकपा एसभित्रै विवाद

माधवको दलबाट सिफारिस भएका नयाँ मन्त्रीको नियुक्ति अन्योलमा, नेकपा एसभित्रै विवाद

नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीहरुको नियुक्ति र शपथ अन्योलमा परेको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीहरुको नियुक्ति र शपथ अन्योलमा परेको छ। सिफारिस गर्ने दलभित्रै पुराना मन्त्री फिर्ता बोलाउने विषयमा विवाद उत्पन्न भएपछि नयाँ मन्त्रीको नियुक्ति अन्योलमा परेको हो। 

National life

‘सिफारिस गरिएका नामहरुलाई प्रधानमन्त्रीले अस्वीकार गरेको भनेर आएका खबरहरुमा सत्यता छैन, बरु उहाँहरुकै दलभित्र विवाद उत्पन्न भएको हो,’ सिफारिस गरिएका नयाँ मन्त्रीहरुको नियुक्ति र शपथबारे प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले भन्यो, ‘यो विवादसँग प्रधानमन्त्री कार्यालयको कुनै साइनो छैन।’

हिजो आइतबारमात्रै पार्टी सचिवालय बैठक बसेर एकीकृत समाजवादीले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। निर्णयलगत्तै कतिपय मौजुदा मन्त्रीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाल समक्ष निर्णयबारे पुनः विचार गर्न आग्रह गरेका थिए। यतिसम्म कि एकीकृत समाजवादीका नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले त ‘निर्णयबारे आफूलाई केही थाहा नभएको’ समेत प्रतिक्रिया दिए। उनले नेपाल समयसँग संक्षिप्त कुराकानी गर्दै ‘मिडियाहरु यस्ता हल्लाका पछाडि लाग्न नहुने’ बताए। भने, ‘पार्टीको कुन बैठकले हामीलाई फिर्ता बोलाउने निर्णय गरेको हो, त्यो मलाई थाहा छैन।’

समाजवादीले आइतबार पुराना चार मन्त्री फिर्ता बोलाउने निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको थियो।

नयाँ मन्त्रीहरुले सोमबार दिउँसो शपथ ग्रहण गर्ने कार्यक्रम थियो। तर दलभित्रै विवाद भएपछि उनीहरुको शपथ ग्रहण अन्योलमा परेको छ।

Shivam cement

मन्त्री हेरफेरको विषयबारे विवाद सतहमा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान बालुवाटारमा छलफल भएको थियो। छलफलको निष्कर्षबारे भने केही बताइएको छैन।

नेकपा (एस)बाट अहिले सरकारमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ छन्। पार्टीले अन्य मन्त्रीहरुलाई फिर्ता बोलाएर खापुङलाई भने राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको छ।

प्रकाशित: Jun 06, 2022| 14:47 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...