काठमाडौं- गोल्डेन पिक दोश्रो केभीकेएसएस अन्तर-विद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। गोल्डेनपिकले टीआईएलाई ५७-४३ ले पराजित गर्दै प्रिक्वाटरफाइनल पुगेको हो।
गोल्डेनपिकको जितमा लाक्पा शेर्पाले सर्वाधिक १४ अंक योगदान गरे। ब्वाइजमै स्काइलार्क र जोसेफ पनि प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। स्काइलार्कले स्वेता सदनलाई ४२-२७ तथा सेन्ट जोसेफले न्यु बुद्ध प्रकाशलाई ३२-२८ ले पराजित गरेको हो।
स्काइलार्कका सुजन गुरुङले १४ तथा सेन्ट जोसेफका रोशन लामाले १८ अंक जोडे। न्यु समिटले सेवा सदनलाई २६-१९ ले पन्छायो। विजेताका स्वस्तिक श्रेष्ठले ९ स्कोर गरे।
गर्ल्समा निम्स र इनोभेटिभले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। दोहोरो जित हात पारेको निम्सले स्काइलार्कलाई २८–१५ र साइपाल एकेडेमीलाई ३४-१८ ले पाखा लगाए।
विजयी टिमका लागि स्काइलार्क विरुद्ध सरस्वती बुढाथोकीले ८ र साइपाल विरुद्ध प्रियाले ९ अंक बटुले। न्यु बुद्ध प्रकाश विरुद्धको खेलमा इनोभेटिभ २३-१८ ले विजयी भयो।
विजेताकी सामन्त थापाले १० अंक जोडिन्। गर्ल्सको अन्य खेलमा डिफेन्डिङ च्याम्पियन हिमालय ह्यापी चाइल्ड एकेडेमी (एचएचसीए) ले स्किब्सलाई ३६–३२, न्यु बुद्ध प्रकाशले दीपज्योतिलाई १०-६ तथा आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) ले न्यु समिटलाई ६-४ ले निराश पारे। एचएचसीएकी अनिता सुनुवारले १६, न्यु बुद्ध प्रकाशकी पासाङ तामाङले ६ तथा केभीकेएसएसकी सुलज्ञा खड्काले ४ अंक जोडे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४