काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ सच्चिएर आए एकताका लागि आफूहरू तयार रहेको बताएका छन्।
केन्द्रीय समितिको १३औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन्।
'प्रचण्डजीलाई पनि हामीले भनेका थियौँ, उहाँ एकताको कुरा गरिराख्नु हुन्छ। तपाई पुरानो ठाउँबाट फर्किनुस् न। तपाईहरु पुरानो ठाउँबाट फर्किनुस्। नेपाली जनतालाई पछाडीतिर धकेल्ने होइन। नेपाली जनतालाई अलमल र भुमरीको चक्करमा फसाउने होइन। निकासतिर, परिवर्तनतिर लैजाने गरी आउनुस्। हामी तयारै छौँ,' विप्लवले थपे, 'किरणजी आउनुस् हामी तयार नै छौँ। तपाईहरु पनि सुध्रिनुस्। तपाईहरु सुध्रिनु हुन्न भने तपाईहरुको अन्त्यलाई भगवानले पनि बचाउन सक्दैन भन्याजस्तै कुरा हो। हामी रुपान्तरित हुनुपर्छ। एक ठाउँमा जुट्नु पर्छ। सब एकतावद्ध बनौँ।'
उनले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्य धर्मेन्द्र बास्तोला 'कञ्चन' र हेमन्तप्रकाश वली 'सुर्दशन'लाई पार्टीमा फर्किन आह्वान गरेका हुन्।
गल्ती स्वीकार गरेर आत्मआलोचना गरी पार्टीमा फर्किन विप्लवको आग्रह छ। बास्तोला र वलीले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने उनको भनाइ छ। महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने बताउँदै कमीकमजोरीहरु सच्याएर फर्कन आग्रह गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौँ महाधिवेशन गर्ने भएको छ। महाधिवेशन अगाडी भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ।
यस्तो छ विप्लवको भनाइ:
सबै कुराहरुलाई केन्द्रित गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलन चलाउने। हाम्रा ६ दलका मित्रहरुसँग सहकार्य गर्ने। ठिक छ, आउनुस् सुर्दशन र कञ्चनजीलाई पनि हामीले भन्यौँ गल्तीहरु स्वीकार्नुस्। मान्छेबाट गल्ती हुन्छ। तपाईहरु गल्तीबाट आत्मआलोचना गर्नुस्। बाहिर जे जति बबन्डर मच्चाउनु भएको छ, त्यो फेर्नुस्। सुध्रिनुस्। मैले हेरेँ, चितवनबाट उहाँहरुले डकुमेन्ट निकाल्नुभएछ। मैले दाँजेर पढे। उहाँ बडो क्रान्ति गर्न गएको। के छ चितवनको डकुमेन्टमा ? एउटा केही पनि फरक छैन। कार्यक्रम – समाजवादी। हामीले पास गरेकै छौँ। रणनीति – समाजवाद प्राप्त गर्ने। हामीले महाधिवेशनबाट परित गरेरै आएका छौँ। कार्यदिशा – एकिकृत जनयुद्ध। व्याख्या हेर्नुभयो भने एकिकृत जनक्रान्तिको सुस्पष्ट व्याख्या जो छ हाम्रो यो पनि त्यो पनि जस्तो मान्छे हुनुहुन्छ, त्यस्तै थुपार्नु हुन्छ। नेताहरुको स्वभाव अनुसार त्यो देखिएको छ। कार्यनीति हेर्यो – स्वाधिन संयुक्त सरकार।
हामीले त भनेकै छौँ नि प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह, वैज्ञानिक समाजवाद। खोई कहाँ जाने हो तपाईहरु ? त्यसैले आवेगबाट। एकछिन उत्तेजनाबाट, कुण्ठाबाट। त्यसरी हुँदैन आन्दोलन। नेपालमा त सयवटा भन्दा बढी पार्टीहरु छन् एउटा थप्ने कुरा ठुलो होइन। तर नेपाली जनतालाई नेतृत्व गर्ने। होल नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गरेर लिएर जानेकुरा हामी सबैले त्यहाँ ध्यान दिनुपर्छ। असहिष्णुता, कुण्ठा, प्रतिशोध बोकेर हिड्ने नेताले आफ्नै परिवारलाई पनि मिलाउन सक्दैन। यो कुरा निश्चित हो। कमि कमजोरीहरु सच्याउनुस्। फर्किनुस्। त्यो सम्भव छैन।
प्रचण्डजीलाई पनि हामीले भनेका थियौँ, उहाँ एकताको कुरा गरिराख्नु हुन्छ। तपाई पुरानो ठाउँबाट फर्किनुस् न। माओवादी केन्द्र सँगका साथीहरुसँग साच्चिकै छलफल हुन्छ। तपाईहरु पुरानो ठाउँबाट फर्किनुस्। नेपाली जनतालाई पछाडीतिर धकेल्ने होइन। नेपाली जनतालाई अलमल र भुमरीको चक्करमा फसाउने होइन। निकासतिर, परिवर्तनतिर लैजाने गरी आउनुस्। हामी तयारै छौँ।
किरणजी आउनुस् हामी तयार नै छौँ। तपाईहरु पनि सुध्रिनुस्। तपाईहरु सुध्रिनु हुन्न भने तपाईहरुको अन्त्यलाई भगवानले पनि बचाउन सक्दैन भन्याजस्तै कुरा हो। त्यसैले त्यसरी जानु हुँदैन। म यहाँबाट अपिल पनि गर्न चाहान्छु, जे जति साथीहरुले त्रुटी गर्नुभएको छ, कमीकमजोरीहरु भएका छन्। त्यसलाई सच्याउनुपर्छ। लहैलहैमा लागेका कयौँ इमान्दार साथीहरु हुनुहुन्छ। निकास नभएको बाटोमा यात्रा गर्नु हुदैन। हामी रुपान्तरित हुनुपर्छ। एक ठाउँमा जुट्नु पर्छ। सब एकतावद्ध बनौँ।